मिथिलाञ्चलमा सुरु भयो होली



काठमाडौं । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ। पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो। परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए।

यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ। यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यग्ङ्गात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ।

तत्कालीन समयमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ। मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन्। परिक्रमाकै क्रममा आज बिहानको समयमा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीले पर्व मनाएका हुन्।

धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्