दरबारमार्ग क्षेत्रका सटर आज १ घण्टा बन्द हुने



काठमाडौं । दरबारमार्ग क्षेत्रको सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज एक घण्टा सटर बन्द गर्दैछन् । काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा आज अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म (एक घण्टा) सटर बन्द गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।

दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेध गरिएको विरोधमा सटर बन्द गरेर काठमाडौं महानगरपालिकाको सांकेतिक विरोध जनाउन लागिएको बताए । दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न गर्दै दरबारमार्ग विकास बोर्डको अगुवाइमा त्यहाँका व्यवसायीरव्यापारीहरुले विरोध जनाउँदै आएका छन् ।

दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको दरबारमार्गमा दुईतर्फी दुईरदुई लेन सडक छाडेर एकातर्फ एक लेनमा पार्किङ राखिँदै आएको थियो । व्यापारीहरुकै योजना अनुसार सुरुमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि पछि काठमाडौं महानगरपालिकाले सवारी धनीहरुबाट पार्किङ शुल्क उठाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्