प्रदेशको नाम ‘कोशी’ नामाकरणबारे फोनिजले गर्‍याे भर्त्सना



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले प्रदेश १ को नाम कोशी राखेकोमा भर्त्सना गरेको छ । शनिबार विज्ञप्ति जारी गरेर फोनिजले यस्तो भर्त्सना गरेको हो ।

यो प्रदेश किरात सभ्यताको विरासत हो भने लिम्बुवानको ऐतिहासिक राजनीतिक पृष्ठभूमिसहित गर्विलो इतिहासको निरन्तरता हो।यो प्रदेश कोच सभ्यता र हिमाली संस्कृति सहितको शेर्पालुङ पहिचानको थलो भएको भन्दै फोनिजले विज्ञपितमा भनेको छ, ‘प्रदेशका आम जनताको भावना र चाहनाविपरीत र खासगरी रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार गरेर जुन रवैयाका साथ कोशी प्रदेश नामाकरण गरिएको छ, फोनिज संघीय समिति यस कदमको घोर निन्दा र भर्त्सना गर्दछ।’

सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकता आदिले अत्यन्त संवेदनशील प्रदेश नम्बर १ को नामाकरण संघीयताको मर्मविपरीत र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘संघीयताको मर्म विपरित र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रदेश नम्बर १ भित्र किरात, लिम्बुवान, कोचिला र शेपालुङसमेतको सभ्यता, राजनीतिक विरासत र पहिचानको थलो भएको जिकिर गर्दै फोनिजले प्रदेशसभाले जनभावना विपरित र रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार भएको फोनिजको ठहर छ।

विगतदेखि नै प्रदेश नम्बर १ को नामाकरण किरात लिम्बुवान वा लिम्बुवान किरात प्रदेश राख्नुपर्ने माग अघि सारेको फोनिजले कोशी प्रदेशले प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने ठहर गर्दै पहिचान प्राप्तिको लागि हुने शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ । पहिचानको निम्ति अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता समेत फोनिजले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्