१ चैतदेखि बैंकको ब्याजदर घट्ने



काठमाडौं । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले जानकारी दिएका छन् । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।

यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । तर, अब भने सो ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने तयारी बैंकहरूले गरेको ती सदस्यले जानकारी दिए ।

योसँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूमा चैतदेखि केही राहत मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्