२३ वर्षदेखि दूधमै डुबुल्की



  • विशाल बस्नेत

महोत्तरी । गाउँका धेरै सहपाठी पैसा कमाउन परदेश भासिए। धमाधम घरमा पैसा पठाए। तर बर्दिबास–७ किसाननगरका विजय यादवलाई कहिल्यै विदेश मोहले तानेन। कुरा २०५३ सालको हो। बिदेसिने युवाको पछि लाग्न छाडेर उनले पहिलोपटक गाउँमै दूध व्यवसाय सुरु गरे। ‘फर्केर हेर्दा २६ वर्ष भएछ,’ विजय पुराना दिन सम्झिँदै भन्छन्, ‘साइकलबाट सुरु भएको मेरो व्यवसाय यात्रा अहिले विभिन्न डेरी हुँदै थुप्रैलाई रोजगारी दिने अवस्थासम्म पुगेको छ।’

आफ्नै ठाउँमा नै केही गर्ने हुटहुटीले उनलाई दूध व्यापारी बनायो । त्यो यात्रा अहिलेसम्म अथक र अटुट छ। यसबीचमा विजय समयअनुसार परिमार्जित भए । दूध बेच्ने तरिका फेरियो, भण्डारण प्रविधि फेरियो । ‘तर स्वदेशभित्रै सम्भावना खोज्ने मेरो प्रयास र दूधको भविष्य फेरिएको छैन,’ विजय आफ्नो सफलताबारे भन्छन्, ‘२०५३ सालमा गाउँको दूध सङ्कलन गरेर साइकलमा राखेर बर्दिबास्थित सशस्त्र प्रहरी क्याम्प र बजारसम्म पु¥याउँथे । त्यसबेला २० लिटर दूध बेच्थेँ, अचेल दैनिक १२ सय लिटरसम्म दूध बेच्छुु।’

बर्दिबास–७ किसाननगर घर भएका विजयले दूध व्यापार गर्नुपर्छ भन्ने सोच बनाएर व्यापारमा होमिँदा नगर क्षेत्रका धेरै किसानाई दूध बेचेर पैसा पाइन्छ भन्ने थाहा नै थिएन । जब यादवले घर–घरमा गएर दूध सङ्कलन गरे, तब दूध बेचेर पनि पैसा कमाउन सकिन्छ भन्ने धेरैलाई थाहा भयो।

‘त्यसपछि बल्ल गाउँका कृषकहरूलाई गाई, भैँसी पाल्न प्रेरित गर्न सफल भएँ,’ उनी भन्छन्। २०५३ सालमा लिटरको १० रुपैयाँमा दूध बेचेका यादव अहिलेको मूल्यबाट उति सन्तुष्ट छैनन् । अहिले नाफा कम भए पनि लामो समयदेखि धानेको पेसाले घर परिवार पाल्न पुगेकामा उनी सन्तुष्ट छन्।

‘किसानहरूसँग ६ रुपैयाँमा दूध उठाएर बजार पु¥याउँदा १० रुपैयाँमा बेच्थेँ । त्यतिबेला १० रुपैयाँ निकै ठुलो थियो,’ यादव विगत सम्झिँदै भन्छन् । उनी व्यवसायमा आत्मसन्तुष्टिलाई सबैभन्दा ठुलो नाफा र सम्पत्ति ठान्छन्। २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहले २०५३ सालसम्म आइपुग्दा निकै ठुलो हलचल ल्याइसकेको थियो । किसाननगर गाउँका युवा माओवादीले लैजान्छ भन्ने डरले धमाधम गाउँ छाड्न थाले । तर उनी डगमगाएनन् ।

‘आतङ्कित हुने वातावरण त थियो, तर मलाई कसैको डर नै लागेन,’ यादव भन्छन्, ‘मैले सधैँ कामलाई ध्यान दिए न राज्य पक्षको निशाना बनियो, न त विद्रोही पक्षको नै।’ २०५३ सालमा बर्दिबासका सुदूर गाउँमा सडकको व्यवस्था थिएन। रातु नदीको बहाव निकै डरलाग्दो थियो। जङ्गलको बीचबाट साइकल डो¥याउँदै बजारसम्म आइपुग्न यादवलाई झन्डै १ घन्टा लाग्थ्यो । ‘यसबीचमा हुने त्रास सम्झिनसक्नुको हुन्थ्यो,’ यादव भन्छन् ।

यादवले पहिला दूध सङ्कलन गर्दै गर्दा सङ्कलन केन्द्रका रूपमा २०५९ सालमा किसाननगरकै हनुमानचोकमा पहिलो पटक डेरी खोले। ७ वर्षको अवधिमा यादवले गरेको सङ्घर्षको परिणाम थियो– उनको दूध सङ्कलन केन्द्र। गाउँलेहरूको अपेक्षा बढेपछि यादवले २०६० सालमा साइकल छाडेर मोटरसाइकल रोजे। मोटरसाइकल लिन थालेपछि यादवको दूध सङ्कलनको दायरा झन् फराकिलो बनिसकेको थियो । यादवमा दूध व्यवसायप्रति थप आत्मविश्वास बढ्न थाल्यो।

यतिबेलासम्म उनले महेन्द्रनगर र जनकपुरमा समेत डेरी विस्तार गरिसकेका थिए। साइकल, मोटरसाइकल हुँदै यादवले २०७१ बाट गाडी नै खरिद गरेर दूध बेच्न थाले। दूधलाई नै भविष्य बनाएका यादवको लामो सङ्घर्ष आफैँमा प्रेरणादायी छ। काम गर्ने आत्मविश्वास भए जीविकोपार्जन गर्न स्वदेशमा नै अनेकौँ सम्भावना भएको यादवको बुझाइ छ।

यादवले विदेशको पीडा सुनेका र देखेका छन्। त्यही भएर उनले आफ्ना घर परिवारलाई पनि विदेश जान रोक लगाएका छन्। भाइ वीरेन्द्रलाई पनि यादवले डेरी व्यवसायमा नै संलग्न गराएका छन्। त्यही भएर उनी आत्मविश्वासका साथ भन्छन्, ‘विदेशमा गएर पसिना बगाउनुको सट्टा नेपालमै मिहिनेत गर्न सके परिवारसँग रमाएरै जीवन मज्जाले निर्वाह हुन्छ।’

यादवको डेरीका बर्दिबासमा मात्र ३ वटा शाखा छन्। धनुुषाको महेन्द्रनगर र जनकपुरमा पनि उनको डेरी सञ्चालनमा छ। १० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने मासिक १ लाख रुपैयाँभन्दा बढी कमाउँछन्।

प्रतिक्रिया दिनुहोस्