आमा ! शरणार्थीले ओस्कार जित्यो



एजेन्सी । सन् १९८० को दशकका २ ठुला फिल्ममा की हुए कुआन बाल कलाकार थिए । तर, हलिउडले उनलाई छोडेपछि उनले अभिनयलाई पनि छाडे । अहिले यिनै कुआनले यसपटक ओस्कारमा अवार्ड जितेर सुखद् पुनरागमन गरेका छन् ।

‘उनीहरू भन्छन् कि यस्ता कथा केवल फिल्ममा मात्र हुन्छन्’, नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जल्सस्थित बल्बी थिएटरमा आयोजित ९५औँ संस्करणको ‘ओस्कार अवार्ड’मा फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट ‘उत्कृष्ट सहायक अभिनेता’को अवार्ड उचालेपछि भावुक कुआनले भने, ‘म विश्वास गर्न सक्दिनँ कि यो मसँग भइरहेको छ । यो अमेरिकी सपना हो ।’

उनको कथा आफैँमा एउटा फिल्मको कथाभन्दा कम छैन। बाल्यकालमा कुआन शरणार्थीका रूपमा भियतनामबाट हङकङ पुगे। त्यसपछि उनी अमेरिकामा बसोबास गरे। उनले सन् १९८४ मा ‘इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डोम’मा बाल कलाकारका रूपमा अभिनय गरे। यो फिल्ममा काम गर्नका लागि उनले अकस्मात् अडिसन दिने मौका पाए । त्यसको १ वर्षपछि उनले ‘द गोनिज’मा ग्याजेट प्रेमी बच्चाका रूपमा अभिनय गरे ।

तर, उनी हुर्कंदै गएपछि अभिनयबाट पछि पर्दै गए र आफूलाई पर्दापछाडि रहेर स्टन्ट संयोजक र सहायक निर्देशकका रूपमा काम गर्नमा सीमित राखे। ५० वर्षको उमेरमा ‘क्रेजी रिच एसियन्स’ हेरेपछि त्यसबाट प्रेरित भई गुमेको अभिनय सपनालाई पुनस्र्थापित गर्ने निर्णय लिए।

उनका एक एजेन्ट साथीले फिल्ममा पुनः अभिनय गर्न प्रोत्साहन गरे। त्यसको २ सातापछि उनलाई फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट फोन आयो। जुन फोनले उनलाई दोस्रो ठुलो ब्रेक दियो र फिल्मबाट जीवनको पहिलो ओस्कार अवार्ड पनि।

‘मेरो आमा ८४ वर्षकी हुनुभयो र उहाँले घरबाट हेर्दै हुनुहुन्छ । आमा मैले भर्खरै ओस्कार जितेँ’, सुन जडित ओस्कार अवार्डलाई चुम्बन गर्दै भावुक मुद्रामा उनले भने, ‘मेरो यात्रा डुंगाबाट सुरु भयो । मैले १ वर्ष शरणार्थी शिविरमा बिताएँ र जसरी म यहाँ हलिउडको ठुलो स्टेजमा पुगेको छु’।’

कुआन सन् १९७० को दशकमा ७ वर्षको उमेरमा बुबासँग भियतनामबाट एउटा साँघुरो डुंगा चढेर हङकङ आइपुगे। जबकि उनकी आमा र ३ दाजुभाइ मलेसिया गए । सन् १९७९ मा अमेरिका बसाइँ सरेपछि मात्र उनको परिवारको पुनर्मिलन भयो । यो यात्रालाई उनी ‘दुःखदायी’ मान्छन् ।

‘हामी शरणार्थी थियौँ’, कुआन भन्छन्, ‘हामीलाई कसैले चाहँदैनन्। उनीहरू हामीलाई ‘डुंगाबाट ताजा’ मात्र भन्थे। हामी स्कुलमा हुँदा खिल्ली उडाउँथे । त्यो अवस्थामा एउटा बच्चाको मानसिक अवस्था के हुन्छ ? तपाईं आफैँ कल्पना गर्न सक्नुहुन्छ।’

१२ वर्षको उमेरमा ‘इन्डियाना जोन्स’का लागि कान्छो भाइलाई समर्थन गर्न जाँदा उनको जीवनमा परिवर्तन आयो। उनलाई पनि अडिसन दिन भनिए पनि उनले चाहेनन्। तर कास्टिङ निर्देशकले उनलाई प्रयास गर्न सुझाए ।

त्यसको ३ हप्तापछि कुआन फिल्म सुटिङका लागि श्रीलंका यात्रामा निस्किए। ‘यो मेरो जीवनकै सबैभन्दा खुसीको समय थियो’, उनले भने । फिल्मको केही चित्रण र विषयवस्तुमाथि समीक्षकले आलोचना गरे पनि कुआन भने निर्देशक स्टिवन स्पिलवर्ग क्रेडिटको योग्य मान्छन्। ‘स्पिलवर्ग नै पहिलो व्यक्ति हुन्, जसले एसियन अनुहारलाई हलिउड ब्लकबस्टरमा जोडे’, उनी भन्छन्। त्यसपछि उनी ‘द गुनिज’मा सिन अस्टिन, जोस ब्रोलिन, कोरी फेल्डमेन र मार्था प्लिम्पटनजस्ता युवा स्टारहरूसँग जोडिए।

यो फिल्मपछि उनी ‘टिभी सिटकम्स टुगेदर वी स्ट्यान्ड’ र ‘हेड अफ द क्लास’मा देखा परे । तर, ९० को दशकमा उनलाई अभिनयको प्रस्ताव कम आउन थाल्यो । उनलाई प्राप्त चरित्रहरू पनि छोटा थिए। ‘बाल कलाकारबाट वयस्क अभिनेतामा परिवर्तन गर्न सधैँ गाह्रो हुन्छ’, उनी भन्छन्, ‘तर, जब तपाईं एसियाली हुनुहुन्छ, तब यो सय गुणा बढी गाह्रो हुन्छ । तपाईंले सय स्क्रिप्ट लिनुभयो भने पनि त्यहाँ अर्थपूर्ण एसियाली चरित्र देखाउने सम्भावना कम छ । धेरै पटक हामी केवल मजाकको पात्र मात्र बन्यौँ ।’

उनी पर्खन छोडे र सन् २०१८ मा ‘क्रेजी रिच एसियन्स’ले सफलता नपाएसम्म पर्दामा नफर्कने निर्णय लिए। उनले यो फिल्म थिएटरमा ३ पटकसम्म हेरेर र हरेक पटक रोए। फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ मा उनले अभिनेत्री मिसेल योहको कपडा धुने काम सम्हाल्ने पति बेमन्ड बेङको भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्