
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड क्रिकेट लिगको उपाधि जितेको छ। कतारको दोहामा भएको फाइनल खेलमा वर्ल्ड जायन्टसलाई ७ विकेटले हराउँदै एसिया लायन्स च्याम्पियन बनेको हो। टस जितेर वर्ल्ड जायन्टले पहिले ब्याटिङ थालेको थियो।
वर्ल्ड जायन्टले २० ओभरमा ४ विकेट गुमाएर १४७ रन बनायो। वर्ल्डका लागि ज्याक्विस कालिसले अविजित ७८ रन बनाए। उनले ५४ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए। रोस टेलेरले ३२ रन जोडे। वर्ल्डविरुद्ध एसिया लायन्सका अब्दुर रजाकले २ तथा थिसरा पेरेराले १ विकेट लिए।
जवाफमा उत्रिएको एसियाले तीन विकेट गुमाएर १६.१ ओभरमा लक्ष्य पूरा गर्यो। पहिलो विकेटका लागि उपुल थरंगा र तिलकरत्ने दिलशानले ११५ रनको साझेदारी गरे। थरंगाले २८ बलमा ५७ रन जोडे। दिलशानले ४२ बलमा ५८ रन बनाए। एसियाका थरंगा लिगको प्लेयर अफ दि सिरिज घोषित भए।