धनियाँ बेचेर वार्षिक ३ लाख आम्दानी



म्याग्दी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक किसानले वार्षिक ३ लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रूपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन्।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन्। धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउ लगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए। हिउँद र वर्षा गरी २ सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ।

७०० रुपैयाँको बीउ र ४ हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए। म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन्।

लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ। लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्ने मान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैं टिपेर लैजाने गरेका कार्कीले बताए ।

‘अहिले अरु तरकारी सकिएको छ तर धनियाँ भने प्रशस्तै छ,’ कार्कीले भने। कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्