नेपालमा घट्दै अन्धोपन



काठमाडौं : नेपालमा अन्धोपनको समस्या कम हुँदै गएको पाइएको छ । नेपाल नेत्रज्योति संघले सन् २०१९–०२० मा गरेको अध्यनले अन्धोपनको समस्यामा कम हुँदै गएको देखिएको हो ।

संघले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अध्ययन गरेको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । सन् १९८१ मा कुल जनसंख्याको ० दशमलव ८४ प्रतिशत जनसंख्यामा अन्धोपनको समस्या रहेको थियो । सन् २०१९–०२० मा अन्धोपनको समस्या घट्दो पाइएको छ ।

उक्त सर्वेक्षणमा कुल जनसंख्याको ० दशमलव २८ प्रतिशतमा मात्र अन्धोपनको समस्या देखिएको संघका महासचिव चन्दले बताए । ४५ औँ स्थापना दिवसको अवसरमा सोमबार भएको कार्यक्रममा संघका महसचिव चन्दले नेत्रज्योतिसंघ अन्धोपन न्युनिकरणमा क्रियाशील रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष प्रा।डा चेतराज पन्तले आँखा स्वास्थ्यबारे जनचेतना संगै सहज, सर्वसूलभ र गुणस्तरीय उपचार सेवा पुर्‍याउन आफुहरु निरन्तर लागिरहेको बताए । कार्यक्रममा प्रमुख अतिथी तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आँखा स्वास्थ्यमा नेत्रज्याति संघले खेलेको भुमिकाको प्रशंसा गरे ।

उनले वातावरणमा आएको प्रतिकृल प्रभावले गर्दा आँखामा समस्या बढ्न थालेको उल्लेख गरे । आँखा उपचारमा नेपालले विश्वमै प्रभावकारी भुमिका खेलेको स्मरण गर्दै धन्यवाद दिए । कार्यक्रममा आँखा स्वास्थ्यमा योगदान पुर्‍याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्