चुनाव जिताउन ५ दलको संयुक्त अपिल 



काठमाडौं । १० दलीय सत्ता गठबन्धनमा रहेका ५ दलले आफ्ना साझा उम्मेदवार तय गर्दै १० वैशाखमा हुने उपनिर्वाचनमा ती उम्मेदवारलाई जिताउन संयुक्त अपिल गरेका छन्। अहिलेको सत्ता गठबन्धनमा १० दल रहे पनि उपनिर्वाचनका लागि ५ दल मात्र एक ढिक्का भएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले उपनिर्वाचनका लागि तालमेल गरेका छन् । गठबन्धनमै रहेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टीले भने उपनिर्वाचनमा आ–आफ्नै उम्मेदवार उठाएका छन्।

सत्ता गठबन्धनका तर्फबाट तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा पनि कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जनमतका उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्। माओवादी, नेकपा एस र लोसपाले भने ती उम्मेदवारलाई नै समर्थन गरेका छन्।

मंगलबार जारी गरिएको विज्ञप्तिमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशनात्मक अपिल गरिएको छ। अपिलमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था र संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उपनर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु/गराउनुहुन हार्दिक आह्वान गर्दछौँ ।’

संयुक्त विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्