रवि लामिछानेको राहदानी मुद्दाको पेसी आज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दाको पेसी आजका लागि तोकिएको छ।

उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा हिजै (मंगलबार) का लागि पेसी तोकिए पनि उनको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो। सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले लामिछानेको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका छन्।

यो मुद्दामा अब आज पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने/नबढ्ने निश्चित हुनेछ। सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो। रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो।

प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। महान्यायाधीवक्ताको लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन्।

पौडेलले यसअघि लामिछानेको सांसद पदको अयोग्यतासम्बन्धी रिट दायर गरेका थिए। सो रिटमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्