रविविरुद्धका उजुरी खारेज



काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेको उम्मेदवारी कायम हुने भएको छ। उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै लामिछानेको उम्मेदवारी कायम हुने भएको हो।

मंगलबार लामिछानेविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमा दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ। लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २१ चैतमा ४ वटा उजुरी दर्ता भएका थिए।

चितवन–२ को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी अवैधानिक भएको भन्दै उजुरी दर्ता भएको थियो। उजुरी खारेज भएसँगै लामिछानेको उम्मेदवारी कायम भएको छ। लामिछानेविरुद्ध राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।

लामिछानेको उम्मेदवारीविरुद्ध काठमाडौंबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत् उजुरी दर्ता गरेका थिए। तर, सफलले गरेको उजुरीमाथि निर्णय गर्न जिल्ला निर्वाचन कार्यालयले केन्द्रीय कार्यालयमा पठाएको छ। लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उम्मेदवारी दर्ता गरेकाले उनको उमेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो।

संविधानको धारा २९१ अनुसार लामिछानेले नेपाली नागरिकता प्राप्त गरेको ३ महिना हुनुपर्ने भएकाले प्रतिस्पर्धीहरूले उनको उम्मेदवारी अयोग्य हुने दाबी गरेका थिए। संविधानमा ‘विदेशी नागरिकता त्यागेको ३ महिना’ भनेकाले लामिछानेको हकमा उक्त दाबी नपुगेको निर्वाचन कार्यालयको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्