नेता, कार्यकर्ताले थाहै नपाई सकियो माओवादीको २ महिने संगठन सुदृढीकरण अभियान



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को २ महिने संगठन सुदृढीकरण अभियान तल्ला तहका अधिकांश नेता, कार्यकर्ताले थाहै नपाई सकिएको छ। २२ माघमा माओवादी केन्द्रले २ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । २२ चैतमा यस अभियानको समयसीमा सकिइसकेको छ।

४ मंसिरमा भएको संघ र प्रदेशको निर्वाचनमा पार्टीले अपेक्षा गरेको भन्दा धेरै कम मत आएपछि माओवादीले यो अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो। १२ देखि २२ माघसम्म चलेको स्थायी समिति बैठकले नेताहरूलाई गाउँ पठाउने निर्णय गरेको थियो। तर, माओवादीले घोषणा गरेको यस अभियानले २ महिना बितिसक्दा गाउँ देखेन । केहीबाहेक धेरै केन्द्रीय नेताहरूले आफ्नो जिल्लासमेत टेकेनन्।

धेरै जिम्मेवार नेताहरू नै यस कार्यक्रमको विषयमा अपडेट समेत छैनन्। अभियानको विषयमा बाग्मती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङले ‘पूर्ण रूपमा अपडेट नभएको’ बताए। अभियानको सन्दर्भमा द नेपालटपले उनीसँग कुरा गर्न खोज्दा आफू सबै जिल्लाको विषयमा अपेडट नरहेकाले अर्को नेतासँग कुरा गर्न सिफारिस गरे।

रामेछाप नगरपालिकाका सचिव नीरबहादुर श्रेष्ठ यस अवधिमा ठोस कार्यक्रम नभएको बताउँछन्। उनी भन्छन्, ‘फाट्टफुट्ट भेटघाट र कतैकतै समान्य कार्यक्रमबाहेक अन्य कार्यक्रम भएनन् ।’ उनले नियमित रूपमा गरिने भेटघाटमै अभियानको अवधि सकिएको बताए। केन्द्रीय नेताहरू संगठन निर्माण र विस्तारका लागि आफ्नो जिल्ला नफर्की माओवादीले घोषणा गरेको २ महिना सकिएको छ।

यस अवधिमा गाउँ जाने केन्द्रीय नेताहरू पनि जिल्ला जाने र कार्यकर्तासँग सेल्फि खिचेर फर्किने मात्र काम भएको माओवादी केन्द्रकै नेताहरू बताउँछन् । धेरै जिल्लामा यस अभियानको विषयमा ठोस रूपमा छलफल वा कार्यक्रमसमेत भएन। तर, यही समयमा एमालेले सञ्चालन गरेको ‘ग्रासरुट अभियान’ भने व्यापक रूपमा सञ्चालन भइरहेको छ । अहिलेसम्म एमालेले ७५ प्रतिशतभन्दा बढी भूगोलमा यो अभियान सम्पन्न गरिसकेको छ।

केही जिल्लामा भने सामान्य कार्यक्रमहरू भए। केही जनवर्गीय संगठनहरूको सम्मेलन भयो । केहीमा नेताहरू आफ्नै ढंगले भेटघाट गर्दै हिँडे। पार्टीले ९ वटा अभियानको उद्देश्यसहित कार्यक्रमको मोडालिटीसमेत तयार गरेर सर्कुलर गरेको थियो।

वैचारिक राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण, व्यवस्थापकीय कार्यक्रम, सूचना, संचार तथा प्रचारसम्बन्धी कार्यक्रम, अध्ययन, सर्वेक्षण तथा विश्लेषणसम्बन्धी कार्यक्रम, राजनीतिक तथा प्रशासनिक समन्वय, सांस्कृतिक कार्यक्रम जस्ता कार्यक्रम तय गरिएको थियो। तर, पार्टी केन्द्रले तयार गरेको ढाँचाअनुसार अधिकांश क्षेत्रमा कार्यक्रम हुन सकेन । पार्टीले अभियान चलाउने घोषणा गरे पनि त्यस प्रकारको गतिविधि र उत्साह नदेखिएको नेतादेखि कार्यकर्तासम्म स्वीकार गर्छन्।

यस अवधिमा केन्द्रीय नेताहरू सहित माओवादीका ७ प्रदेशसहित ३ गैरभौगोलिक गरेर १० वटै प्रदेशका बैठक बसे। तर, जिल्ला, स्थानीय तह, वडा र सेल समितिको अभियान प्रदेश समितिलाई छाडेर केन्द्रीय नेताहरू काठमाडौं फर्किए। प्रदेशका नेताहरूले समेत जिल्ला, स्थानीय तह र वडाहरूमा प्रभावकारी कार्यक्रम गर्न सकेनन्।

यस अभियानको मुख्य उद्देश्य पार्टीलाई व्यवस्थित, सृदृढ गर्दै पार्टीमा देखिएका कमी कमजोरीसहित सुझाव संकलन गरेर केन्द्रीय समितिमा छलफल र कार्यान्वयन गर्ने थियो। कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसी आफ्नो प्रदेशमा अभियान व्यापक भएको बताउँछिन् । कर्णालीमा शहीद दिलबहादुर रम्तेलको स्मृतिको दिन १४ फागुनमा कार्यक्रम उद्घाटन गरेर १४ वैशाखमा सक्ने तय गरिएको उनले बताइन्।

अहिले पार्टी सुदृढीकरण अभियानअन्तर्गत डोल्पा, जुम्लालगायत जिल्लामा माओवादी पार्टीमा प्रवेश गर्नेको लर्को भएको उनले बताइन्। अन्य प्रदेशको विषयमा आफूलाई केही थाहा नभएको भन्दै आफ्नो प्रदेशमा पार्टीको केन्द्रीय नीतिअनुसार कार्यक्रम भइरहेको उनको भनाइ छ। मधेस प्रदेशमा पार्टी सुदृढीकरण अभियान सुरु नभएको वीरगन्ज महानगरपालिकाको अध्यक्ष रहवर अन्सारीले बताए।

आफू अहिले मन्त्रीको भूमिकामा समेत रहेका कारण महानगर पनि अभियान सुरु गर्न नसकेको उनको भनाइ छ। तर, कार्यकर्तासँगको भेटघाट र छलफल भने दैनिक रूपमा जारी रहेको अन्सारीले सुनाए। गाउँगाउँमा कार्यकर्ताहरू नेताप्रति निराशा बोकेर बसेका कारण पनि यो अभियान लिएर नेताहरू गाउँ जान नसकेको माओवादी नेताहरू बताउँछन्।

कार्यकर्तामा देखिएको निराशा नेताहरूले पार्टी निर्माणमा अल्छी गरेका कारण भएकोे रामेछापका सचिव तारानारायण श्रेष्ठ बताउँछन्। उनले रामेछापमा सबै जनवर्गीय संगठनको भेला गरेको र योङ कम्युनिस्ट लिग (वाईसीएल)को पालिका सम्मेलन गरेको बताए। नेताहरूले कमिसन खान, बिचौलिया बन्नतिर ध्यान दिँदा नेता र कार्यकर्ताबीच दुरी धेरै लामो देखिएको रामेछापका वाईसीएल नेता खम्ब श्रेष्ठ बताउँछन्।

आफूले रामेछाप नगरपालिकाको इन्चार्जको जिम्मेवारी पूरा गर्दै गर्दा नेता र कार्यकर्ताबीचको सम्बन्धलाई नजिकबाट हेर्ने मौका मिलेको उनी बताउँछन्। तर, रामेछापमा यस अभियानले सार्थकता पाएको उनको दाबी छ। यही रफ्तारमा पार्टीका नेताहरू संगठन निर्माण अभियानमा लागे पार्टी बन्छ भन्ने देखिएको उनी बताउँछन्।

अभियानको विषयमा कुरा गर्न खोज्दा प्रदेशकै नेतृत्व तहका नेताहरू भने बोल्न मानेनन्। उनीहरू अभियानको विषयमा अन्य नेतालाई सोध्न आग्रह गर्छन्। पार्टी महासचिव देवप्रसाद गुरुङले समेत यस विषयमा बेल्न चाहेनन् । उनीले पार्टी सुदृढीकरण अभियान चलिरहेको मात्र बताए।

प्रतिक्रिया दिनुहोस्