दुःखी हुँदै बाहिरिए मुकुन्द



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। उनी पार्टीको बरीयता क्रममा तेस्रो नम्बरमा थिए। पार्टी गठनको १९ महिनामा नेकपा एस परित्याग गर्ने उनी सबैभन्दा उच्च तहका नेता हुन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका थिए। औपचारिक घोषणामा उनले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको र अवसरवादमा लिप्त भएको आरोप लगाए।

नेकपा एसलाई पिँध नभएको बाल्टीसँग तुलना गर्दै उनले पार्टीभित्र सांसदका लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्र यस पार्टीमा रहेको दाबी गरेका थिए। पत्रकार सम्मेलनमार्फत पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्यसमेत नरहेको घोषणा गरेका उनले अबको यात्रा एमाले नै रहेको पनि बताए।

नेकपा एसभित्र मच्चिएको सबैभन्दा ठुलो हलचल हो यो। स्रोतका अनुसार पुस महिनामै पार्टीभित्र खटपट देखिए पनि त्यसमय थामथुम गरिएको थियो। तर, न्यौपानेको पार्टी परित्यागले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको तर्फ संकेत गरेको छ।

न्यौपानेका अनुसार सम्मानित पद पाएको अवस्थामा एसका सम्मानित नेता झलनाथ खनाल पनि एमालेमै फर्किने मनस्थितिमा छन्। खनाल पनि एमालेको फर्केको अवस्थामा उनीसँगै ठुलो जमातले नेकपा एस छाड्ने पक्का रहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

यस्तो सम्भावना पनि देखिन्छ किनकि एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रतिशोधपूर्ण आरोप–प्रत्यारोप लाग्ने गरे पनि ओली र खनालबीच अहिलेसम्म त्यस्तो देखिएको छैन। गत ४ असारमा इलामको जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल गर्न झलनाथ खनालले नै अग्रसरता देखाएका थिए।

तालमेलबाट जिल्ला समन्वय समितिको प्रमुखमा एमाले र उपप्रमुखमा एकीकृत समाजवादी निर्वाचित भएका थिए। यसले पनि एमालेसँगको सहकार्यमा खनालका तर्फबाट ‘ग्रिन सिग्नल’ आउने देखिन्छ। खनालले पार्टीको केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय परिषद्को बैठकमा बारम्बार एमालेसँगको सम्भावित सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा पनि राख्दै आएका छन् ।

एमालेका दोस्रो तहका नेताले खनालसँग धेरै पटक संवाद पनि गरिसकेका छन्। दुवै पार्टीका कार्यकर्ताबीच समस्या नदेखिए पनि पार्टीका नेतृत्व तहबीच भने तिक्ततापूर्ण अवस्था रहेको देखिन्छ। करिब २ साताअघि नेकपा एसका उपाध्यक्ष रहेका केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पनि पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए। १४ चैतमा उनीहरूको राजीनामा पार्टीको सचिवालय बैठक स्वीकृत पनि गर्‍यो।

उनीहरूले पार्टी नछाडे पनि पार्टीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। उनीहरूको पनि एमाले प्रवेशको सम्भावना जीवितै छ। त्यस्तै, किसान श्रेष्ठ, रामकुमारी झाँक्री जस्ता नेताहरूको पनि पछिल्लो समय एमालेप्रति झुकाव बढ्दै गएको देखिन्छ।

एमाले फर्कने तयारी

न्यौपानेले भनेजस्तै खनाललगायतका नेताहरू एमालेमा फर्कन भने अहिलेकै अवस्थामा त्यति सहज भने देखिँदैन। उपयुक्त स्थान पाएको अवस्थामा खनालसहित नेकपा एसका नेताहरू एमाले फर्कने तयरीमा रहे पनि उनीहरूलाई कुन स्थान दिने भन्नेबारे एमालेमा कुनै टुंगो लागेको छैन।

खनाललाई एमालेमा भित्र्याउन उपयुक्त स्थानको व्यवस्था गर्नुपर्ने अवस्था छ। यसका लागि पार्टीको विधान नै संशोधन गर्नुपर्ने हुन्छ। विधान अधिवेशनले मात्र विधान संशोधन गर्न सक्ने व्यवस्था छ। यसका लागि केन्द्रीय कमिटीबाट बाधा अड्काउ फुकाउमार्फत ७० वर्षे उमेर हद जस्ता व्यवस्था हटाउने तयारी भइरहेको एमालेका एक नेताले बताए। यसो हुन सके वामदेव गौतम पनि एमालेमा अटाउनेछन्।

गौतमको माग पनि यही नै हो। उनले नेकपा एससँगको वार्ता अघि नबढेको बताइसकेका छन्। उता, नेकपा एसका नेताहरूले धमाधम पार्टी छाड्दै गर्दा नेपालले भने वाम एकताको आलाप छाडेका छैनन् । तर, पार्टीभित्र भने समाजवादी एकता कि वाम एकता भन्नेमा मतभेद देखिन्छ।

पार्टी परित्यागको सिलसिला

२६ कात्तिक २०७८ मा पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘एमाले छाड्नेको सिलसिला चलेको र एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढेको’ भन्दै अभिव्यक्ति दिएका थिए । तर, उनको भनाइ कार्यकतालाई हौसला दिनमा सीमित देखियो।

पार्टी गठनको केही महिनामै नेकपा एस छाडेर एमाले प्रवेश गर्नेको लर्को नै लाग्यो । नेपालले भाषण गर्नुभन्दा २ साताअघि ३ कात्तिक २०७८ मा नेकपा एसका केन्द्रीय सदस्य एवं ललितपुर महानगर इन्चार्ज प्रेम महर्जन र केन्द्रीय सल्लाहकार सदस्य मिठाराम केसी पार्टी छाड्दै पुनः एमालेमै प्रवेश गरेका थिए । त्यस समयमा दुवै नेताले एमालेसँग विद्रोह गर्नुको औचित्य नेकपा एससँग नभएको बताएका थिए।

६ साउन २०७९ मा माधवकुमार नेपालको चुनावी क्षेत्रबाटै नेकपा एस छाडेर जितन राय यादव, राजगिर साहलगायतका दर्जनजति नेता, कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए भने १७ मंसिर २०७९ मा नेकपा एसका बाग्मती प्रदेश कमिटी सदस्य रमेश पौडेल, मीरा पौडेलसहित ठूलो संख्यामा जिल्लास्तरीय कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए।

आफूहरू विगतमा एमाले छाडेर नेकपा एसतिर लागे पनि अहिलेको परिस्थितिमा एमाले पराजित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर हुने देखेर पार्टीमा बिनाशर्त फर्किएको उनीहरूले बताएका थिए। त्यस्तै, नेकपा एसले पार्टीको पुनर्गठन दिवस मनाइरहेकै दिन अर्थात् ९ फागुन २०७९ मा सुदूरपश्चिमका पूर्वमन्त्रीसहितका नेताहरू एमालेमा फर्किएका थिए। पूर्वमन्त्री तथा तत्कालीन सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर शाही र पूर्व नगर प्रमुख अशोक चन्द एमाले फर्किए।

एमाले फर्किंदै गर्दा उनीहरूले भनेका थिए, ‘पुनर्गठनका नाममा माधव नेपालले पार्टी विभाजन गरे। त्यसमा हामी पनि लाग्यौँ तर अब मूल घर एमालेमै फर्किएका छौँ।’ साथै, पुनर्गठनको नाममा माधव नेपाललाई साथ दिएर आत्मग्लानि भएको पनि बताएका थिए। नेकपा एसका काठमाडौं जिल्ला सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जिल्ला सदस्य ७ चैतमा नेकपा एस परित्याग गर्दै एमालेमा पुनः प्रवेश गरेका थिए।

पार्टी छाड्नेमा नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका इन्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं–२ का क्षेत्रीय संयोजक गोपीकृष्ण रिजाल, शंखरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्य थिए। एमालेबाट विद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरू सत्तामा मात्र लागेका भन्दै उनीहरूले पार्टी छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्