उकालोतर्फ कोरोना संक्रमण



काठमाडौं । ४ महिनापछि नेपालमा कोरोना संक्रमणको दर पुनः बढेको छ। २ वैशाखको तथ्यांकअनुसार नेपालमा ३७७ जना सक्रिय संक्रमित छन। पछिल्लो समय दैनिक १०० भन्दा बढी संक्रमित थपिएका छन्। यो क्रम अझै केही समय बढ्न सक्नेछ। आइतबार पनि कोरोनाकै कारण १ जनाको ज्यान गएको छ।

४ महिनाअघि र पछिको समयमा धेरै फरक देखिएको छ। ४ महिनाअघि कोरोनासँगै डेंगी र सिजनल फ्लुको समेत असर देखिएको छ। यसैकारण अस्पतालमा चाप पनि बढेको थियो। अहिले भने त्यो अवस्था छैन। कोरानाको ग्राफ कस्तो भएमा या दैनिक कति संक्रमित भएमा यसलाई अर्को लहर ठान्ने भन्ने कुनै प्रष्ट आधार छैन। तर, विगतका लहरको भन्दा दैनिक आधा या आधाभन्दा बढी भएमा मात्र पनि यसलाई लहर मान्न सकिने सरुवा रोग विशेषज्ञहरू बताउँछन्।

कोरोनाको कारण मात्र अवस्था डरलाग्दो या भयावह नभए पनि गर्मी सिजन सुरु भएका कारण केही सावधानी भने अपनाउनैपर्ने विज्ञहरू बताउँछन्। धेरै नेपालीले कोरोना खोपको बुस्टर डोज पनि लगाइसकेका छन्। धेरैले चौथो डोज पनि लगाएका छन्। बारम्बार संक्रमण फैलिएका कारण टि–सेल (रोगको सूचना दिने कोष) ले पनि मानिसलाई सहयोग गरेको छ । जसका कारण सामान्य मानिसमा ज्यान नै जाने जोखिम भने कमै छ।

‘पुरानो रोग भएका व्यक्तिको छातीमा समेत समस्या बढेका कारण अहिले समस्या झनै थपिएको छ,’ वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्। उनले भनेअनुसार भर्खर जन्मिएको बच्चा र सुत्केरी महिला पनि त्यत्तिकै सतर्क हुन आवश्यक छ। नेपालमा १० चैत, २०७६ मा दोस्रो कोरोना संक्रमित भेटिएपछि त्यसको १ दिनपछि नै लकडाउन भएको थियो। २०७७ भदौ र असोजमा पहिलो लहरको संक्रमण पिकमा पुगेको थियो भने २०७८ वैशाख र जेठ महिनामा दोस्रो लहर पिकमा पुगेको थियो।

त्यसबेला दैनिक २४६ जनासम्मको ज्यान गएको थियो। २०७८ माघमा कोरोनामा उत्परिवर्तन भर्ई ओमिक्रोन भेरियन्ट पैदा भएको थियो। अत्यन्त संक्रामक भएका कारण सो समयमा धेरै संक्रमित भए पनि दोस्रो लहरमा जस्तो घातक असर देखिएन। यस पटक कोरोना कम खतरनाक भए पनि परिवारमा अशक्त र प्रौढ व्यक्ति भएको घरमा भने सतर्कता आवश्यक भएको चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्