उपनिर्वाचनको मौन अवधि सुरु, के के गर्न पाइँदैन?



काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि ४८ घन्टा प्रचारप्रसारमा बन्देज लगाएको छ।

मौन अवधिको समयमा निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आयोगले बताएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ।

साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ। यस अवधिलाई कडाइका साथ कार्यान्वयन गराउन जिल्लास्तरीय अनुगमन संयन्त्रका साथै स्थानीय प्रशासन सक्रिय रहेको आयोगले जानकारी दिएको छ।

२४ चैतदेखि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदान सम्पन्न भएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।

३ क्षेत्रमा ६९ उम्मेदवार
उपनिर्वाचनका लागि चितवन–२ मा २४ जना उम्मेदवार छन्। जसमा १२ जना दलका छन् भने बाँकी १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। तनहुँमा जम्मा ९ जना उम्मेदवार छन् । यहाँ सबै राजनीतिक दलबाट मात्र उम्मेदवार छन्।

त्यस्तै, बारामा ३६ जना उम्मेदवार चुनावी मैदानमा छन्। यसरी ३ वटा निर्वाचन क्षेत्रमा कुल ६९ जना उम्ममेदवार ३ सिटका लागि लड्दै छन्। ६९ जनामा पनि ३३ जना दलका तर्फबाट छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतादाता नामावलीका अनुसार बारा–२ र चितवन–२ मा गत निर्वाचन भन्दा मतदाताको संख्यामा वृद्धि भएको छ भने तनहुँ–१ मा घटेको छ। आयोगका अनुसार चितवन–२ मा ४८० जना मतदाता थपिएका छन्। १० वैशाखको मतदानमा यस क्षेत्रबाट कुल १ लाख २४ हजार ६९५ जनाले सहभागिता जनाउन पाउनेछन्।

त्यस्तै, बारा–२ मा यसपटक २३७ मतदाता थपिएका छन्। योसँगै यहाँका कुल मतदाताको संख्या १ लाख ५ हजार २४८ पुगेको छ। तनहुँ–१ मा भने गत निर्वाचनको भन्दा १३५ जना मतदाता घटेर १ लाख २३ हजार ३०५ पुगेको छ।

मतदानका लागि ३ वटै निर्वाचन क्षेत्रमा १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र स्थापना गरिएको छ। जसमा चितवन–२ मा ४३ वटा मतदान स्थल र १३८ मतदान केन्द्र तोकिएको छ।

बारा–२ मा ८२ मतदान स्थल र १३७ मतदान केन्द्र तथा तनहुँ–१ मा ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार उपनिर्वाचनको परिणाम ५ दिनभित्र सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्