उपनिर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी मतदानस्थलमा



चितवन । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ। निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् ।

सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ। इच्छाकामना र कालिका नगरपालिकामा बिहीबारनै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन्। जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठक लगायतका आवश्यक तयारीका काम गर्ने बताए।

उनले मतपत्र, मतपेटिका लगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिए। चितवन २ का ४३ निर्वाचनस्थलका १३८ केन्द्रमा ६९० कर्मचारी खटिएका छन्। उनका अनुसार १ मतदान केन्द्रमा ५ कर्मचारी खटाइएको छ। यस क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्