सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत  आवेश फैलाउन साधन बनेको  बताएका छने । उनले समाजिक सञ्जाल आवेग फैलाउने साधना भएको भन्दै सचेत हुनुपर्ने बताएका छन् । आज  नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभामा उनले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोगको साटो दुरुपयोग गरिरहेको बताएका छन् ।

कार्यक्रममा उनले भने , ‘देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ । यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप जरुरी छ । अहिले वैचारिक बहसभन्दा सामाजिक सञ्जालतिर मानिसको ध्यान छ । त्यसले गर्दा मूलधारका मिडिया नै विस्थापित हुनेजस्तो देखिँदै छ । जसले हिजो लोकतन्त्रका निम्ति, राष्ट्रिय स्वाधीनताका निम्ति लामो भूमिका खेले तिनलाई नै पछि पार्ने गरी विस्थापित गर्ने गरी अराजकता पैदा गर्दैछ । यसमा बौद्धिक वर्गले ध्यान दिनु जरुरी छ ।’

साथै उनले आजको दिन अप्रिल २२ कम्युनिस्ट आन्दोलनको परिचर्चा गर्ने दिन भएको बताए । उनले विगतका कमी–कमजोरीको समीक्षा गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई सही नीति, विधिअनुरूप छिट्टै ध्रुवीकरण गर्ने दिशामा लाग्नुपर्ने  बताए । उनले कम्युनिस्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय भएको बताउँदै सिद्धान्तनिष्ठ एकता आजको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्टका नाममा धेरै पार्टी हुनु दुःखद भए पनि कुनै नेताका कारण समस्या आएकाले आन्दोलन अगाडि बढाउन नयाँ पार्टी निर्माण गरेको बताए ।  माधव कुमार नेपालले कठिन परिस्थितिमा छुट्टै पार्टी बनाएर आन्दोलनमा लाग्नु आफ्नो विकल्प  नभएको  बताए ।

उनले भने ,’कम्युनिस्टका नाममा धेरै पार्टी हुनु दुःखद हो । तर कुनै नेताका कारण समस्या आएर कम्युनिस्ट आन्दोलन नै अगाडि नबढ्ने अवस्था आउँदा सिद्धान्तअनुरूप अगाडि बढ्न कठिन हुन्छ । यस्तो अवस्थामा प्रतिकूलताका बाबजुद छुट्टै पार्टी बनाएर कम्युनिस्ट आन्दोलनमा लाग्नु राम्रो हो । धेरै कम्युनिस्ट पार्टी छौँ, एउटै पार्टीका रूपमा हामी मिल्न नसके पनि राष्ट्र र राष्ट्रियताका विषय, देश हित र जनताका हितसँग जोडिएका विषयमा सहकार्य गरेर अगाडि जान सकिन्छ । यसका लागि समाजवादी मोर्चा बनाउन सकिन्छ । विसं २०६२/६३ पछि कम्युनिस्ट पार्टीको हिस्सा दुई तिहाइमा पुगेको थियो, २०७४ को संसद्मा दुई तिहाइ थियो । त्यसलाई बचाउन सकिएन । ‘

कम्युनिस्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउने काममा लाग्नुपर्ने बताउँदै पूर्व प्रधानमन्त्री नेपालले कूटनीतिक कौशलता देखाएर वर्तमान सरकार टिकाउँदै समृद्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्