गण्डकी प्रदेश : नयाँ सत्ता समीकरणमा को बन्ला मुख्यमन्त्री?



पोखरा । सरकार गठनको साढे ३ महिनामै गण्डकी प्रदेश सरकार परिवर्तन भएको छ। शनिबार खगराज अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै गण्डकीमा सरकार परिवर्तन हुने भएको हो। गण्डकी प्रदेशसभामा विश्वासको मत लिने क्रममा एमाले नेतासमेत रहेका अधिकारी असफल भएका हुन्।

उनलाई ६० जना प्रदेशसभा सदस्यमध्ये २४ जनाले मात्र विश्वासको मत दिए भने ३५ जनाले विपक्षमा मत दिएका थिए। विश्वासको मत पाउनका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको मात्र मत पाए। नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)ले अधिकारीलाई मत नदिएपछि अधिकारी विश्वासको मत पाउनबाट चुके।

राष्ट्रपति निर्वाचनका लागि तत्कालीन सत्ता गठबन्धन फुटेर नयाँ गठबन्धन तयार भएको थियो। यसैको असर गण्डकी प्रदेशमा पनि पर्‍यो। २५ पुसमा नेकपा एमालेका २२, माओवादीका ८, राप्र्रपाका २ र नेकपा एसका १ जना (तत्कालीन स्वतन्त्र सांसद दीपक मनाङे) गरी ३३ जना सांसदको समर्थनमा अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ४ दिनपछि अर्थात् २९ पुसमा उनले विश्वासको मत लिएका थिए। तर, केन्द्रमा भएको परिवर्तित सत्ता समीकरणका कारण १० चैतमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। माओवादीले आफ्नो समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री अधिकारी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा परेका थिए।गण्डकी प्रदेशसभामा ५ वटा दलको प्रतिनिधित्व छ।

६० सदस्यीय सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सदस्य छन् । गत निर्वाचनपछि गठन भएको प्रदेश सरकार ढलेको यो दोस्रो घटना हो। यसअघि सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार पनि विश्वासको मत पाउन नसकेर ढलेको थियो ।

मुख्यमन्त्री ठुलो दलको कि बहुमत जुटाउने?

अधिकारी विश्वासको मत लिन असफल भएसँगै नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीका रूपमा नियुक्त गर्नेछन्। प्रदेशसभामा २७ सांसदसहित कांग्रेस सबैभन्दा ठुलो दल हो।

संविधानको धारा १६८ को (१) अर्थात् बहुमत प्रप्त दलको तर्फबाट सरकार बन्न नसकेपछि उपधारा २ अनुसार गण्डकीमा गठबन्धनमार्फत् सरकार निर्माण भएको थियो। अहिले गठबन्धनको पनि समर्थन नरहेका कारण उपधारा ३ अनुसार ठुलो दलको हैसियतमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्ने देखिएको छ। तर, यस विषयमा भने कुनै निर्णय भएको छैन।

कांग्रेस र माओवादी आलोपालो मुख्यमन्त्री लिने तयारीमा छन्। आलोपालोको विषयमा छलफल भइरहेको दुवै दलका नेताहरूले बताएका छन्। माओवादीले पहिले आफ्नो नेतृत्वमा सरकार बनाउन पाउनुपर्ने दाबी गरिरहेको छ भने यस विषयमा कांग्रेस प्रदेश प्रमुखको निर्णय कुर्ने मनस्थितिमा छ।

प्रदेश प्रमुख गुरुङ भने यस विषयमा आज (आइतबार) निर्णय गर्ने तयारीमा छन् । प्रदेश प्रमुखको सचिवालयका अनुसार राजनीतिक दलहरूको कुराभन्दा पनि संविधानले जे भन्छ त्यही प्रक्रियालाई अघि बढाउने मनस्थितिमा प्रदेश प्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस्