कम्युनिस्ट नेताका चरित्र : भाषणमा एकताको रफ्फू, व्यवहारमा स्वार्थको डम्फू



काठमाडौं । ‘कम्युनिस्ट पार्टीहरू किन मिल्न सक्दैनन् ? बसेर छलफल गर्न किन सक्दैनन् ? आफ्ना कमीकमजोरी खोजेर सुधार किन गर्न सक्दैनन् ? नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवस स्थापना दिवस मनाउँदै गर्दा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुलामञ्चमा गरेको प्रश्न हो यो।

प्रश्न जति गम्भीर छ, एउटै कम्युनिस्ट पार्टी निर्माणको पहलमा भने त्यति नै गैरजिम्मेवार छन्, नेपाल पनि । सार्वजनिक मञ्चमा उभिएर हामी किन एक हुन सकेनौँ भनेर प्रश्न गर्ने नेपाल २ वर्ष अघिमात्र एमाले फुटाएर नयाँ पार्टी गठन गर्ने नेता हुन्। नेपालमात्र होइन, नेपालका कम्युनिस्ट पार्टी र तिनका शीर्ष नेताहरू मञ्चमा उभिएर भाषण गर्दा एकताका कुरा गर्ने र व्यवहारमा भने मञ्चमा आसनग्रहण नगराएको झोँकमा समेत पार्टी फुटाउने गरेको तितो इतिहास छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको एकता दिवस समारोहमा नेपाललगायत अन्य पार्टीका नेतासमेत सहभागी थिए । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भयो। तर, नेपालका ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले, माओवादी केन्द्र, नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतले एकता र वैचारिक संघर्षलाई भने औपचारिकतामै सीमित बनाएका छन्।

माओवादी केन्द्रले नेकपाका संस्थापकमध्येका नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसमा स्थापना दिवसको सामान्य चर्चा गरे पनि फुट र एकताको गम्भीर समीक्षा गर्दै सच्चिने प्रण भने गरेन। विप्लवले आयोजना गरेको कार्यक्रममा अथिति बनेका नेपालले एमालेमा रहँदा १६ वर्षभन्दा बढी एकछत्र नेतृत्व गरे । जब उनलाई हराएर केपी शर्मा ओली पार्टीको नेतृत्व गर्न पुगे, तब उनले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरे ।

नेपालले उठाएको सवाल सैद्धान्तिक रूपमा ठिक भए पनि उनले उठाएको प्रश्नसँग उनकै व्यवहार नमिल्ने उनीसँगै मञ्चमा बसेका नेताहरूको आरोप छ। कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माक्र्सको विचारधारामा टेकेर नयाँ समाजवादी पार्टी बनाउनुपर्ने बताए। बाबुराम तिनै नेता हुन्, जसले आफूले लडेर ल्याएको संविधानसभाले बनाएको संविधान नै पूर्ण नभएको भन्दै नयाँ पार्टी गठन गरेर माओवादीबाट विभाजित भएका थिए।

लक्ष्य नै सरकार

अहिले पार्टीहरूले आफ्नो नीति, नियम, सिद्धान्त सबै कुरा बिर्सिएर सरकारमा पुग्नु नै मुख्य लक्ष्य राखेका छन्। जसरी पनि आफूसहित केही पार्टीलाई साथ लिएर वा दिएर सरकारमा सहभागी हुनु नै अहिलेका पार्टीहरूको मुख्य लक्ष्य छ । राजनीतिक विष्लेषक हरि रोक्का अहिलेका पार्टीहरूसँग कुनै योजना वा विचार नभएको बताउँछन्।

‘अहिलेका पार्टीहरूको मुख्य लक्ष्य नै सरकार हो’, रोक्का भन्छन्, ‘नयाँ वा पुराना दल, गठबन्धन जे भने पनि यिनीहरूको मुख्य उद्देश्य सरकार हो ।’ पार्टी निर्माण गर्नु खास उद्देश्य हुने भन्दै अहिलेका दलहरू जुन रूपमा जे भने पनि लक्ष्य सरकार भएको उनी बताउँछन् । उनका अनुसार अहिले कुनै पनि दलसँग ठोस योजना वा देश र समाज कस्तो हुन्छ भन्ने खाका छैन ।

नेपालमा कम्युनिस्ट पार्टी

नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिन्छ । १० वैशाख २००६ (२२ अप्रिल १९४९) मा महासचिव पुष्पलाल श्रेष्ठ, सदस्यहरू नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले स्थापना गरेका हुन्। तत्कालीन राणा शासनविरुद्ध संगठित भएका उनीहरू पार्टी स्थापना भएको १३ वर्षसम्म विवाद र फुटबाट माथि उठ्न सकेनन् । स्थापनाको २ वर्षमै २००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाइयो।

त्यसपछि उनले पार्टीभित्रै संघर्षको बाटो रोजेका थिए । तर, पुष्पलालको गणतन्त्र र मनमोहनको संवैधानिक राजतन्त्रको लाइनले पार्टी फुट्यो । त्यो बेला विवादको केन्द्रमा पुष्पलाल थिए । माक्र्सवादको अध्ययन र प्रचारमा लागेका मित्रहरूलाई नजरअन्दाज गरेर पार्टी खोलेको उनीमाथि आरोप थियो । भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययनमा जुटेका थिए । उनले २३ चैत, २००५ मा ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरे । यो नेपालीमा प्रकाशित पहिलो माक्र्सवादी रचना थियो ।

अर्कातर्फ भारतमै केशरजंग रायमाझीले आफूले अध्ययन गरेको क्यम्पवेल मेडिकल स्कुलमा ‘माक्र्सिस्ट स्टडी सर्कल’ गठन गरे। यो संस्थामा भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आबद्ध हुन थाले । तीमध्ये बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि थिए । रायमाझी र अधिकारी भारतीय कम्युनिस्ट पार्टीको सम्पर्कमा समेत थिए।

‘माक्र्सिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए। सर्कलको उद्देश्य नेपालमा कम्युनिस्ट पार्टी खोल्नु थियो । त्यसतर्फ छलफल हुँदाहुँदै पुष्पलालले सर्कलका साथीहरूलाई थाहै नदिई गुप्त ढंगले अन्य ४ जनालाई सम्मिलित गराई नेकपा स्थापना गरेको विभिन्न रचनाहरूमा उल्लेख गरेको पाइन्छ।२०१५ सालको पहिलो आमनिर्वाचनमा ४ सिट जितेको कम्युनिस्टहरूको संगठन २०२८ सालको झापा विद्रोहबाट मौलायो । झापा विद्रोहको नाम दिइएको यो आन्दोलन नेकपा मालेको नेतृत्वमा भएको थियो।

‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा विद्रोहमार्फत् नेकपा मालेले हालको एमालेको रूप लियो। पुष्पलाल मनमोहनहरूको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो । मनमोहन अधिकारी २०५१ सालमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने।

२०५६ सालमा एमाले पुनः विभाजन भयो। वामदेव गौतमले एमाले विभाजनको नेतृत्व लिएका थिए। अहिले पनि गौतम एमालेमा छैनन् । यसरी एमाले सरकार यात्रा र विभाजनको शृंखलामा रहँदै गर्दा नेकपा माओवादी भने सशस्त्र विद्रोह घोषणा गरेर जंगल पस्यो ।

१० वर्षे सशस्त्र विद्रोहलाई २०६२–६२ मा शान्ति सम्झौतामार्फत् टुंग्याएपछि त्यसयता माओवादी निरन्तर सरकारमा छ । शान्ति सम्झौतापछि पहिलो पार्टी बनेको माओवादीमा फुट र विभाजनको शृंखला सुरु भयो । अहिले माओवादी ९ टुक्रामा विभाजित छ । तर, अहिले सबैतिरबाट आफूहरूलाई जनताले बहिष्कार गर्दै गएपछि उनीहरू एकताको कुरा गर्दै हिँडेका छन् ।

समाजवादी केन्द्र निर्माण गर्ने तयारीसहित लागेका यी नेताहरू सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीका रूपमा रहेका नेकपा एमालेलाई भने स्वीकार गर्न तयार छैनन् । एमालेबाहेक पार्टीहरू अहिले समाजवादी केन्द्र निर्माण गर्ने तयारीमा जुटेका छन् ।

कम्युनिस्ट जनमत

प्रत्येक चुनावको मत परिणामलाई हेर्ने हो भने नेपालमा कम्युनिस्टहरूको लोकप्रिय मत छ । पछिल्लो प्रनिधिनिसभा चुनावको आँकडा हेर्ने हो भने नेपालमा ४५.९४ प्रतिशत मत कम्युनिस्ट पार्टीको पक्षमा खसेको छ । कांग्रेस २६.०६ प्रतिशत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ५.६५ प्रतिशत छ । बाँकी अन्य नयाँ पार्टीका मत छन्। यसरी हेर्दा झन्डै आधा मत कम्युनिस्टको पक्षमा खस्दा पनि नेपालमा कम्युनिस्टहरू बलिया छैनन्। स–साना स्वार्थ नमिल्दासमेत नयाँ पार्टी खोली हाल्ने उनीहरू पछिल्लो समय नयाँ पार्टीप्रति जनताको मन जान थालेपछि भने एकताका कुरा गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्