सामसङको नवलपरासीमा टेलिभिजन फ्याक्ट्रीको उद्घाटनसँगै नेपाली इलेकट्रोनिक्स उत्पादनको रूपान्तरण



काठमाडौँ । स्मार्टफोन र उपभोक्तामुखी इलेकट्रोनिक्स ब्रान्डहरूका विश्वव्यापी अग्रणी कम्पनीहरू मध्येको एक सामसङले नेपालमा वर्षौँ देखि साझेदार रहँदै आएको हिम इलेकट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेकट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण हो ।

सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाल र सामसङ दक्षिण९पश्चिम एसियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत श्री जे बि पार्कले संयुक्त रूपमा गर्नु भएको थियो । उक्त उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत श्री पार्क चोङ सुक, सामसङ इलेकट्रोनिक्सका नेपाल प्रमुख श्री सुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण९पश्चिम एसियाका अध्यक्ष एवंंम् प्रमुख कार्यकारी अधिकृत श्री जे बि पार्कले भन्नु भयो “नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ । हाम्रो साझेदार हिम इलेकट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदछौँ । नेपाल सरकार र स्थानीय निकायहरूले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।”

समारोहलाई सम्बोधन गर्दै गोल्छा समूहका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री शेखर गोल्छाले भन्नु भयो, “सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्साउँछ । विश्वकै सबैभन्दा बृहत् इलेकट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुचि देखाएको छ । जुन हाम्रो लागि महत्त्वपूर्ण सङ्केत हो । यस क्षेत्रलाई प्रवर्द्धन गर्ने उपयुक्त नीतिहरूसँगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारिका अवसरहरूका रूपमा धेरै सकारात्मक योगदानहरू परेको देख्न सक्छौँ ।”

यो टेलिभिजन कारखानाको शिलान्यास अगस्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुँगा हो र यसले स्थानीय उद्यम, नयाँ सिपहरू, खोजहरू र रोजगारसँग देशमा इलेकट्रोनिक्स क्षेत्रको रूपान्तरण गरिरहेको छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरू सिर्जना गर्न र मजबुत इलेकट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्नेछ ।

सामसङ नेपालमा २ दशकभन्दा बढीदेखि चिरपरिचित छ । आज, यो कम्पनी देशमा एक घरेलु नाम बनिसकेको छ । यसले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेकट्रोनिक्स उत्पादनहरू जस्तैस् टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दछ । देशभर सामसङको ५०० वटा इलेकट्रोनिक्स रिटेल पसलहरू र ग्राहक सेवा केन्द्रहरूको सञ्जालमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्