टिम भावना नेपालको मुख्य आधार



अम्मान । उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाली इरानसँग पराजित नेपाली महिला यु-१७ टोली शुक्रबार हुने जोर्डनसँगको दोस्रो खेलमा सकारात्मक देखिएको छ। एएफसी यु–१७ महिला एसियन कप छनोटको इरानसँग बुधबार भएको खेलमा नेपाल १-० ले पराजित भएको थियो।

अम्मानको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल ३ पटक गोलको नजिक पुगेर पनि चुकेको थियो। पहिलो हाफमा दुई पटक गोलको नजिक पुगेको नेपालले दोस्रो हाफमा पनि त्यत्तिकै उत्कृष्ट अवसर गुमाएको थियो। सोही खेलको क्रममा नेपालले जोर्डनसँगको दोस्रो खेलमा विजयी हुने आत्मविश्वास राखेको छ। ‘ केही कमजोरी रहे। त्यसलाई सुधार गर्दा हामी जोर्डनसँग जित हात पार्न सक्छौ,।’

व्यक्तिगत स्किल भन्दा पनि टिम समन्वयमा नेपाल उत्कृष्ट छ। प्रशिक्षक गुरुङ र सहायक प्रशिक्षक भगवती थापा आफूहरूले टोली हेरे पछि पाएको यो महत्त्वपूर्ण सफलता ठान्छन्। ‘सबै जना सकारात्मक छन् । साथै टिम भावना छ ,’ नेपाली राष्ट्रिय टोलीकी पूर्व रक्षक थापाले द नेपाल टपसँगको कुराकानीमा भनिन्। नेपाली टोलीकी फरवार्ड वर्षा ओली र सिना परियारको साथमा होल्डीङ मिडफिल्डर झुमा विश्वकर्माको खेल प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१७ महिला फुटबलका लागि आयोजक देशका साथै गत संस्करणमा शीर्ष तीन स्थान पाउने जापान, उत्तर कोरिया र चीन छनोट भइसकेका छन्। पहिलो चरणमा सबै देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट पहिलो हुने टोली दोस्रो चरणमा प्रवेश गर्ने छन्।

दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिने छ। दुवै समूहको शीर्ष दुई टोली अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउने छन्।

प्रतिक्रिया दिनुहोस्