लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान



काठमाडौँ । लक्ष्मी बैङ्कका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । सो सवारी साधनहरू ज्येष्ठ नागरिक, फरक ढङ्गले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरूलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राको लागि प्रयोग हुनेछ । आउँदो बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरूको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरू प्रदान गरिएको हो ।

आज लुम्बिनीमा आयोजित एक कार्यक्रमका बिच सो विद्युतीय सवारीहरू लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरू तथा लक्ष्मी केयर्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लक्ष्मी केयर्सले गत २०७९ चैत्र १८ गते काठमाडौँमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सागिंतिक कार्यक्रममा सङ्कलित रकमबाट उपरोक्त विद्युतीय सवारीहरू सहयोग प्रदान गरेको हो । लक्ष्मी बैङ्कले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम सङ्कलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

लक्ष्मी केयर्सले नवीकरणीय ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रम लगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । विगतमा लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसरलगायतका स्थानहरूमा सौर्य बत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपले विपन्न तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्