कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो संघीय संसद् सचिवालयलाई पत्र



काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेकोमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र आएको बताएका छन् । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।

कोइलीको विषयमा संसद्मा विभिन्न पार्टीका सांसदहरूले पक्राउ नगरेर संरक्षण गरेको आरोप पनि लगाएका छन् । उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद् सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद् सचिवालयमा पठाएको हो ।

सांसदहरूले ध्यानाकर्षण गर्दा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार रहेको जानकारी औपचारिक रूपमा कुनै निकायले नगराएको बताएका थिए ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मङ्सिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्