पूर्व राजाविरुद्ध अभिव्यक्ति दिएको भन्दै वीरगन्जमा जलाइयो ओलीको पुत्ला



वीरगन्ज । पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै वीरगन्जमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।  नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीविरुद्ध प्रदर्शन र नाराबाजी गर्दै सोमबार दिउँसो वीरगन्जको घण्टाघर चोकमा  राजावादी समूह नेपाल राष्ट्रवाद सङ्घले उनको पुत्ला दहन गरेको हो ।

ओलीले राजसंस्था र पूर्व राजासहित राजपरिवारसमेत प्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेर सार्वजनिक अभिव्यक्ति दिँदा राजसंस्थाको अपमान र राजपरिवारसँग दुर्व्यवहार भएको आरोप लगाउँदै पुत्ला दहन गरिएको सङ्घका अध्यक्ष जनकलाल साहले बताए ।

पूर्वका जिल्लामा भएको कार्यक्रममा गएका बेला ओलीमाथि आक्रमणको प्रयास भएपछि उनले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै आक्रमण राजसंस्था र पूर्व राजपरिवारका व्याक्तिहरुको संलग्नता भएको अभिव्यक्ति दिएका थिए ।

त्यही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै वीरगन्जमा सोमबार ओलीको पुत्ला जलाएर प्रदर्शन गरिएको साहले बताए । प्रदर्शनका क्रममा राजावादीहरूले ओलीविरुद्ध नाराबाजी गर्दै उनीहरुले राजसंस्थामाथि औला देखाउनेको औला काटिने चेतावनी पनि दिए । प्रदर्शनमा सङ्घका पृथ्वी झा, शम्भु चौरसिया, उमाशङ्कर प्रसाद, राजेश प्रसाद चौहान, राजेन्द्र पाल, वीरेन्द्र थापालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्