वीरगन्जमा ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता



वीरगन्ज । वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुनसुकै व्यवसाय विना दर्ता सञ्चालन गर्न कडाइ गरेपछि दर्ता गर्नेको सङ्ख्या वृद्धि भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत हुनुका साथै यसले राष्ट्रिय राजश्वमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय सञ्चालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको पौडेलको भनाई छ ।

गएको आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७९/८० को  वैशाख १५ सम्म आइपुग्दा त्यो सङ्ख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको महानगरको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो ४ वर्षमा २ हजार २ सय ६ जना व्यवसाय गर्नेहरू थपिएका छन् । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली  नै परिचालन  गरेको छ । स्थलगत रूपमै पुगेको टोलीले उद्योग तथा पसलमै पुगेर व्यवसाय नवीकरण तथा नयाँ दर्ता गर्ने गरेको छ । व्यवसाय दर्ताको सङ्ख्या बढेसँगै राजश्व सङ्कलनमा समेत वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको वैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ सङ्कलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए । । उनकाअनुसार यसमा व्यवसाय करको हिस्सा औसतमा ५ प्रतिशत भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्