शरणार्थी प्रकरण : थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जनालाई प्रहरीको ठगीको आरोपमा हिरासतमा लिएको छ ।

पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पुर्जी जारी भएका तीनै जना फराइरहेका जनाइएको छ ।  पक्राउ पुर्जी जारी भएका हरिभक्त  न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य रहेका छन् ।

हरिभक्त र लक्ष्मीको नामको बैङ्क खातामा ५५ लाख नगद डिपोजिट भएको खुलेको छ  ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको पाइएको हो ।

केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैङ्क खातामा पनि ठगीको रकम आएको पाइएको छ । पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरूको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन् ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा पक्राउ परेका हुन् । सन्देश शर्मा  चैत २९ मा पक्राउ परेका थिए ।

आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्