‘स्वनाम’ नेताका बद्नाम छोराहरू !



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नेताका ‘छोरा’हरू समातिएसँगै नेपाली राजनीतिमा छोराहरूका कारण बद्नाम हुने नेताहरूको लिस्ट बढेको छ । देशका ठुल्ठुला भ्रष्टाचार र गम्भीर ‘अपराध’ प्रकरणमा ठुला नेताहरूका सन्तान वा नातागोता जोडिने प्रचलन नयाँ होइन।

देशको व्यवस्था परिवर्तन गर्न महत्वपूर्ण राजनीतिक मोर्चामा सफल भएका नेताहरू आफैँले ल्याएको व्यवस्थाबाट नागरिकको अवस्था परिवर्तन गर्ने मोर्चामा भने बद्नाम भएर निस्किने गरेका छन् । नेपाली राजनीतिमा नेताहरू आफ्ना सन्तान र आफन्तका कारण धेरै बद्नाम भएका छन्।

नेताहरू आफ्ना छोरा र पत्नीका कारण धेरै बदनामी खेपिरहेका छन् । कतिपय नेता भने आफ्नै कारण पनि बद्नामी कमाइरहेका छन्। यसरी बदनामी कमाउनेमा जनताले अधिक भरोसा गरेका नेताहरू पनि छन्।

जनताले अधिक भरोसा गरेका नेता तथा तिनका नातागोता विभिन्न भ्रष्टाचार र आपराधिक प्रकरणमा जोडिनु आपराधिक राजनीतिको परिणाम भएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र भण्डारी बताउँछन्। राजनीतिमा आपराधिकता बढ्दै जानु र जसरी पनि शक्ति अर्जन गर्नुपर्ने राजनीतिक प्रणाली विकास हुँदै जाँदा यस्ता घटनामा विकास भएको डा. भण्डारी बताउँछन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वउप्रधानमन्त्री विष्णु पौडेललगायत नेताहरू विशेष गरी छोरा र पत्नीका कारण बद्नाम भएका छन्। राजनीति आपराधिक मानसिकताबाट ग्रसित भएको र अपराध गर्नेलाई नै जनताले नेता बनाउने प्रवृति विकास भएको डा. भण्डारीको भनाइ छ।

त्यसकारण नेताहरूको राजनीति गर्नुको उद्देश्य नै शक्ति आर्जन गर्ने र त्यसका लागि अपराध गर्नसमेत तयार हुने उनी बताउँछन्। उनी भन्छन्, ‘नेताहरू जसरी पनि सम्पति र शक्ति आर्जन गर्न चाहन्छन्। त्यसका लागि सबैभन्दा सुरक्षित भनेको आफन्त वा छोराछोरी हुन्छ।’

आफन्तका कारण जसले कमाए बद्नाम

विभिन्न प्रकरणमा बद्नाम हुने नेताका विषयमा सबैभन्दा बढी ‘छोरा’ जोडिने गरेको छ। नक्कली शरणार्थी प्रकरणसम्म आइपुग्दा अधिकांश प्रकरणमा नेताका ‘छोरा’ छोडिएका छन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा उनका छोरा जयवीरसिंह देउवाका कारण उनी बद्नाम भए। जयवीरसिंहले बजेट बनाउँदा आफ्नो कम्पनीलाई फाइदा पुग्ने गरी सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार शुल्क मिन्हा गर्न लगाएका थिए। उनको कम्पनीले भारतलगायत विभिन्न देशबाट सेनेटरी प्याड आयात गर्ने गर्छ।

उसो त देउवा आफ्नी पत्नी आरजु राणा देउवाका कारण पनि बेलाबेला विवादमा आउने गर्छन् । पछिल्लो समय सवारीसाधनको डिजिटल नम्बर प्लेटको विषयमा देउवा विवादमा तानिए । उक्त नियम लगाउँदा आरजुले कमिसन खाएको चर्चाले देउवा विवादमा आए । पत्नीकै कारण विवादमा आउने अर्का नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हुन् । उनलाई जनताले काम गर्ने नेताका रूपमा हेर्छन् । तर, सँगसँगै पत्नी हिसिलाका कारण उनी विवादित र असफल भएको चर्चा उत्तिकै हुने गरेको छ।

तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरल छोरा स्वराज पोखरेलका कारण बद्नाम भए । कोरोना महामारीको समयमा ओम्नी ग्रुपले स्वास्थ्य सामग्री खरिद गर्दा स्वराज जोडिएपछि उनी विवादित बनेका थिए । उनी विवादित भएसँगै वीर अस्पतलाले १० वटा भेन्टिलेटर र ५० वटा मोनिटर खरिद गर्ने कम्पनीमा स्वराज जोडिएपछि अर्को कम्पनीसँग खरिद गरेको थियो।
ईश्वर पोखरेल यसअघिकै विवादित पात्र हुन् । पटक–पटक मन्त्री बनिसकेका पोखरेलका यस्ता विभिन्न प्रकरण छन्– जहाँ उनी विवादित छन्।

पानी ट्यांकीमा पैसा लुकाएको, आफन्तलाई विभिन्न सरकारी निकायमा नियुक्ति दिएको, लाभ आउने गरी विभिन्न कम्पनीहरूसँग अनुचित सम्झौता गरेकोलगायत धेर विषयमा चर्चा हुने गरेको छ । यती ग्रुपलाई गोकर्ण फरेस्ट रिसोर्ट सस्तो मूल्यमा लिजमा दिएको प्रकरण, वनस्पति घिउदेखि चिनी खरिदसम्म उनी विवादित छन्।

अर्का पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल पनि आफ्ना छोराका कारण बद्नाम भए । ललितानिवासको जग्गा छोराको नाममा राखेका कारण पौडेल बद्नाम भएका थिए। पौडलका छोरा नवीन पौडेलको नाममा जग्गा पास भएको प्रमाणसमेत बाहिरिएको थियो । यो प्रकरणमा डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, शेरबहादुर देउवालगायत शीर्ष नेतासमेत मुछिएका थिए ।

त्यस्तै अहिले नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने प्रकरणमा मुख्य नेताहरू मुछिएका छन् । यस प्रकरणमा पनि मुख्य नेताका छोराहरू नै अगाडि देखिएका छन्। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी प्रक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भने फरार छन्।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे प्रक्राउ परिसकेको यो प्रकरणमा टोपबहादुर रायमाझी भने फरार छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ८ जना पक्राउ परिसकेका छन् । यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, माओवादी नेतृ पम्फा भुसाललगायत नेताको नाम पनि जोडिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्