एसिया कप श्रीलङ्कामा हुने सम्भावना, नेपालका लागि फेरी त्यो कालो दिन दोहोरिने त हैन ?



काठमाडौँ  । भारत र पाकिस्तानको आन्तरिक विवादका कारण अन्योलमा रहेको एसियाली क्रिकेट कप श्रीलङ्कामा हुने सम्भावना बढेर गएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै आगामी एसिया कप श्रीलङ्काले आयोजना गर्ने सम्भावना बढेको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बिसिसीआई० का सचिव समेत रहेका एसिसीका अध्यक्ष जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने बताएदेखि यस पटकको एसिया कप अन्योलमा परेको थियो ।

आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा भारत र पाकिस्तानसँगै श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले भाग लिँदै छन्। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो। एक समूहमा भारत र पाकिस्तानसँगै नेपालले प्रतिस्पर्धा गर्दा अर्को समूहमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन्।

भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण भारतले प्रतियोगितामा आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ। बङ्गलादेश र अफगानिस्तानले श्रीलङ्कामा प्रतियोगिता आयोजना गर्ने कदमलाई समर्थन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रतियोगिता सम्बन्धी अन्तिम निर्णय यसै महिनामा हुने जनाइएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रतियोगिता पाकिस्तानमै गर्न जोड दिइरहेको छ।एसिसी सदस्यहरूको भर्खरै भएको अनौपचारिक बैठकमा ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिएको छ। तर ओमान र दुबईमा हुने गर्मीका कारण श्रीलङ्कालाई उचित स्थल मानिएको छ।

पहिलेको कालो दिन दोहोरिने  सम्भावना 

यो सन् २००२ को कुरा हो। नेपाली राष्ट्रिय क्रिकेट टोली त्यस बेला सिङ्गापुरमा एसीसी ट्रफी खेल्दै थियो। प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सक्दा नेपाल एसिया कपमा छनोट हुन्थ्यो। एसिया कपमा नेपाली टोलीले भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीसँग खेल्ने अवसर पाउँथ्यो।

मलेसियालाई २५ रनले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश पायो अनि पहिलो पटक एसिया कपको लागि छनोट भयो। त्यति बेला एसीसी ट्रफीका शीर्ष दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो।

दुई९तीन वर्षअघिदेखि नै कारगिल युद्धको कारण भारत र पाकिस्तानबिच तनाव चुलिएको थियो। त्यसले क्रिकेटलाई पनि असर पर्छ कि भन्ने आशङ्का पहिलेदेखि नै थियो। आखिर त्यही नै भइदियो।

यसपालिको एसिया कप पाकिस्तानमा हुन लागेको छ। भारत र पाकिस्तानबिच विद्यमान द्वन्द्वका कारण एसिया कप फेरि पनि प्रभावित हुने हो कि र कतै नेपालले फेरि एसिया कप खेल्ने अवसरबाट वञ्चित हुने हो कि भन्ने डर बढेको छ।

आयोजक पाकिस्तानमा गएर नखेल्ने भारतको घोषणा र त्यसपछि ‘न्यूट्रल भेन्यू’अर्थात् तटस्थ मैदानमा भारतको खेल खेलाउने विकल्पबारे पनि अहिलेसम्म सहमति जुट्न नसकेको खबरहरू सार्वजनिक भएका छन्।

प्रतियोगिता हुने आधारहरू भने धेरै देखिन्छ। क्रिकेटको ठुलो आर्थिक बजार तलमाथि पर्न सक्ने भएकोले प्रतियोगिता नै रद्द हुन नसक्ने सम्भावना कम रहेको छ । भारतले पाकिस्तानलाई छोडेर बाँकी पाँच राष्ट्रबिच नयाँ प्रतियोगिता गर्ने प्रस्ताव गरेको खबर पनि छ।

प्रतिक्रिया दिनुहोस्