सानु भण्डारीकाे बयानका आधारमा पक्राउ परे बालकृष्ण खाँण 



काठमाडौँ । ललितपुर महानगरपालिका वडा–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा रहेका छन् । तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बुधवार एसएसपी डा.मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ ।

चैत १२ मा पक्राउ परेका भण्डारीले तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न  प्रहरीले जनाएको छ ।  बयानका क्रममा उनले भने, ‘बालकृष्ण खाँण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’

शरणार्थीको नाममा ठगेको आरोपमा थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । मन्त्री खाँण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएको उनको बयान रहेको छ । १ करोड २५ लाख नगद खाँण र पाण्डेले लिएको बयानसँगै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले आज पक्राउ गरेका खाँण घरमा प्रहरी पुग्दा पत्नीसँग भिडियो कलमा थिए ।

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अहिले सबैको ध्यान यसैतर्फ केन्द्रित छ । यस प्रकरणमा खाँणको समेत संलग्नता हुनसक्ने देखिएपछि प्रहरीले पछिल्ला दिनहरूमा उनलाई नै केन्द्रित गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

यसबिचमा गिरोहका सदस्यहरूले बालकृष्ण पत्नी समेत रहेकी काँग्रेस सांसद मञ्जु खाँणलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भयो । अडियो मात्र पक्राउका लागि पर्याप्त नभएपछि प्रहरी थप प्रमाणको खोजीमा लाग्यो ।

प्रतिक्रिया दिनुहोस्