‘तपाईँको फिल्म चल्छ, हाउस फुल हुन्छ र नभए हल खाली हुन्छ’



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारलाई कसैको पनि प्रभावमा नपरी  स्वच्छ तरीकाले अनुसन्धान गर्न आग्रह गरेका छन् । आज बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै  थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो  कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

उनले भने, ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबाबले प्रभावित नहोस् । कुनै पनि कुराले, कहीँको पनि कुराले प्रभावित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईँको फिल्म चल्छ, हाउस फुल हुन्छ, नभए हल खाली हुन्छ । यहाँ अनुसन्धान गरेँ भनेर मात्र हुँदैन, विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्री र फेयर भएको विश्वास लाग्नुपर्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य रहेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्