सुदूरपश्चिममा टुंगियो मन्त्रालय भागबण्डा



काठमाडौं । सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तारका लागि भागबण्डा टुंगो लागेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रीहरुको भागबण्डामा सहमति जुटेको हो। मन्त्रालयको भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मुख्यमन्त्रीका अतिरिक्त २ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले २ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको हो। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले मन्त्रालयहरुको भागबण्डाको सहमति जुटेकाले शुक्रबार नै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए।

माओवादी केन्द्रले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट बहादुर साउदलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै, समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको छ। कांग्रेसले भने मन्त्रीहरुको नाम टुंग्याउन सकेको छैन। नागरिक उन्मुक्ति पार्टीले यसअघि लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरीलाई सरकारमा पठाउने तयारी गरेकोमा एउटा मात्रै मन्त्रालय पाएका कारण कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्