सुदूरपश्चिमका प्रदेश : नवनियुक्त मन्त्रीहरूले लिए शपथ



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिवार अपराह्न प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका हुन् ।

मुख्यमन्त्री शाहले शनिवार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नेपाली काँग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सम्हालेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताएका छन् ।मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । शाह २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्