नीति तथा कार्यक्रम पारित हुन नदिने एमालेको घोषणा



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले शुक्रवार संसद्मा पेस गरेको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन नगरेको भन्दै एमालेले संसद्मा नीति तथा कार्यक्रमको विरोध गर्नसमेत निर्देशन दिएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदलाई नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘यो समर्थन योग्य छैन, विरोध योग्य छ। यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुःखको कुरा हो। त्यसैले यसलाई पास गर्न हुँदैन। विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो।’ अर्थतन्त्र सङ्कटमा गइरहेको बेलामा सुधारको कुनै कार्यक्रम नल्याएको अध्यक्ष ओलीको दाबी रहेको छ ।

 ‘पञ्चवर्षीय योजना भनेको ५ वटा नीति तथा कार्यक्रम ५ वटा बजेट हो। तर, त्यसतिर छुवाएकै छैन। त्यसतिर अर्थ राखेको छैन। हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौँ भन्ने कुरा आउनुपर्ने हो। तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ। विभिन्न ठाउँमा लिइएको छ।’ संसदीय समितिमा ओलीले भने ।

नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नभएको ओलीको टिप्पणी छ। सबैभन्दा महँगो जनतालाई सरकार बनेको ओलीको आरोप छ । हिजो ५ जेठमा आगामी आर्थिक वर्षका सरकारका नीति तथा कार्यक्रमलाई राष्ट्रपति राम चन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा  वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्