सातको पहिलो दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार



काठमाडौँ । सेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो दिन आज सामान्य अङ्कले उकालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ ।

आज नेप्से दिनभरको उतारचढाव बिच ५.८८ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १८८३.२० विन्दुमा पुगेको छ । आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.१४ अंक, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अङ्कले उकालो लागेको छ ।

अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २७३ स्टकको ३४ हजार ३३१ पटकको कारोबारमा १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे। त्यसै गरी,सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत बढेको छ भने, पोखरा फाइनान्सको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आदर्श लघुवित्तको शेयर मूल्य यस दिन सर्वाधिक ६.५६ प्रतिशत ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै,सर्वाधिक शेयर मूल्य बढेको राष्ट्रिय बिमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक उकालो लागेको छ । भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन निजीृवन बिमा उपसमूहको परिसूचक सर्वाधिक २.८० प्रतिशत उकालो लागेको छ । त्यस्तै, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक पनि यस दिन २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । विकास बैङ्क, वित्त, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्