जुत्तादेखि अनुदानसम्ममा भ्रष्टाचार



कामठाडौँ । नेपाली ब्याडमिन्टनको विवाद फेरी चुलिएको छ । अध्यक्ष रामजी बहादुर श्रेष्ठ र उपाध्यक्ष सुभाष श्रेष्ठ समूहबीच विवाद बढे पछि १५ वैशाखमा संघका तीन जना उपाध्यक्षले अध्यक्ष रामजीबहादुर श्रेष्ठको हस्ताक्षरलाई मान्यता नदिन माग गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)मा निवेदन दिएका थिए । राखेपले भने यस बारे कुनै निर्णय गरेको छैन ।

निवेदन दिनेमा उपाध्यक्ष नरेशबहादुर सिंह, विश्वेश श्रेष्ठ र सुभाष श्रेष्ठ छन् । यी मध्येका सिंहले यस अघि नै आसन्न अधिबेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

४ जेठ, २०७२ मा ४ वर्षका लागि श्रेष्ठको नेतृत्वमा कार्य समिति निर्वाचित भएको थियो । संघको विधान र राखेपको नियमावली अनुसार कार्यकाल सकिएको ३ महिनाभित्रमा साधारणसभा गरी नयाँ कार्यसमितिका लागि चुनाव हुनुपर्ने भए पनि चुनाव भएको थिएन ।

कार्यकाल सकिएको पनि ३ वर्ष ११ महिना नाघिसक्दा समेत वार्षिक साधारणसभा समेत नराखेको राखेपमा दर्ता भएको निवेदनमा उल्लेख छ । ७ वर्ष ११ महिनाको अवधिमा जम्मा ४ पटक मात्र कार्यसमितिको पूर्णबैठक राखेको समेत उक्त निवेदनमा जनाइएको छ ।

‘हालसम्म लेखापरीक्षण गरिएको वा नगरिएको भन्ने कुरा समेत हामी पदाधिकारीहरूलाई जानकारी नगराइएको र सबै निर्णयहरू सचिवालयको बैठकबाट गरी पूर्ण बैठकबाट अनुमोदन गराउनुपर्नेमा कहिल्यै पनि नगरिएको हुँदा हचुवाको भरमा बलपूर्वक अध्यक्षज्यूले चलाइरहनुभएको नेपाल ब्याडमिन्टन संघबाट लिखितरूपमा केही कुरा सिफारिश भई आएमा कार्यान्वयन नगरिदिनुहुनका लागि विनम्र अनुरोध गर्दछौं,’ सो निवेदनमा उल्लेख छ ।

यत्ति मात्र होइन ब्याडमिन्टनका उपमहासचिव लबभक्त श्रेष्ठले काठमाडौंमा १५ देखि २५ मंसिर २०७६ मा भएको १३अाैँ  दक्षिण एसियाली खेलकुदमा जुत्ता खरिद प्रकरणमा व्यापक घोटाला भएको पुष्टि भइसकेको छ ।

राखेपले गठन गरेको छानविन समितिले नै दोषी ठहर गरे पनि उनी माथि कुनै कारबाही भएको छैन । यस विषयमा सदस्य सचिव टंकलाल घिसिङसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

साग खेलकुदको समयमा उप महासचिव समेत रहेका लव माथि आरोप लागेपछि तत्कालीन राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा छानविन कमिटी गठन गरेको थियो ।

३ भदौ २०७७ मा तत्कालीन तालीम तथा प्रशिक्षक विभागका प्रमुख अर्जुन विक, कानुन शाखाका प्रमुख अधिवक्ता नारायण राज अर्याल, राष्ट्रिय टिम तयारी समितिका प्रमुख महेन्द्र राई र लेखा अधिकृत पासाङ फिन्जी सहितको छानविन कमिटी गठन भएको थियो ।

लवले २७ जोर जुत्ता खरिदको नाममा २ लाख ७० हजार रुपैया लिएको र खेलाडीलाई नदिएको ठहर गर्दै ५ लाख ४० हजार जरिवाना गर्नुका साथ ५ वर्ष सार्वजनिक पदमा बस्न अबैध घोषणा गर्न माग गरेको थियो । त्यस पछि श्रेष्ठले संघ पदाधिकारीबाट राजिनामा त दिए । तर, कारबाहीको कुनै प्रक्रिया नै अघि बढाइएन ।

अहिले दिइएको निवेदनमा राखेपले दिने रकमबाहेक अन्य देशबाट आउने अनुदानको रकममा पनि व्यापक हिनामिना भएकाले ती सबै कुराको छानबिन हुनुपर्ने कुरा पनि उल्लेख छ ।

अध्यक्ष श्रेष्ठ माथि १२ बैशाख २०७२ को भुकम्प पछि पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट आएको अनुदानमा पनि घोटाला गरेको आरोप लगाइएको छ । सो समयमा थाइल्यान्ड ब्याडमिन्टन संघले सहयोग गरेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।

पछिल्ला ८ बर्षमा ५ पटक भन्दा बढी संघको पूर्ण बैठक समेत बस्न सकेको छैन । उपाध्यक्ष सुवास श्रेष्ठको दावी अनुसार पछिल्ला ५ वर्षमा कुनै पनि हिसाब किताब पारदर्शी छैन ।

नाम नबताउने सर्तमा एक खेलाडी भन्छन्, ‘अहिले रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, सचिव नवीन प्रकास जंग शाह र सदस्य दिपक थापाको मिलोमताको संघलाई एकलौटी ढंगले चलाइएको छ ।रामजी अध्यक्ष भएयता संघले अहिले सम्म राखेपले आयोजना गरे बाहेक आफै राष्ट्रिय च्याम्पियनसीपको आयोजना गरेको छैन ।
स्वास्थ्य मन्त्री शरद सिंह भण्डारीका निकट मानिने रामजी जनता समाजवादी(जसपा)को खेलकुद भातृ संगठन समाजवादी खेलकुद महासंघका अध्यक्ष समेत थिए ।
महासंघ त्यागेर उनी अखिल नेपाल खेलकुद महासंघमा प्रवेश गरेर उपाध्यक्ष भएका छन् । ब्याडमिन्टन संघलाई १ करोड ३८ लाख बेरुजु फर्चौटका लागि लागि राखेपले पत्राचार गरेको छ ।

महासचिव विरेन्द्र श्रेष्ठले १ पटक राखेपेले कागजात हराएका कारण फेरी अहिले पेश्की फर्छौटका लागि लागि परेको बताए । साधारण सभा तय भइसके पछि अध्यक्ष रामजी दुर्घटनामा परेको र त्यस पछि कोरोना महामारी आएका कारण साधारण सभा सही समयमा गर्न नसकिएको उनले जिकिर गरे ।
‘वार्षीक साधारण सभा नभएकोमा महासचिवको रुपमा नैतिक जिम्मेवारी म पनि लिन्छु,’ बिरेन्द्रले भने । उनले २५ बैशाखमा अन्तिम पटक बोर्ड बैठक बसेको बताउदै ३ महिनामा बैठक बस्ने माइन्युट भए पनि पहिलो पटक १४, दोस्रो पटक १२ र तेस्रो पटक ५ जनाको उपस्थिती रहेको जनाए । ‘यसपछि नै हामीले सचिवालयले निर्णय गर्न थालेका हौ,’ उनले भने ।

अहिले तदर्थ कमिटीको प्रयास राखेपले गरे पनि रामजी र सुबासको शक्ति संघर्षका कारण राखेपले निर्णय गर्न सकेको छैन । एमालेका पूर्व कार्यकर्ता सुभाष बामदेव गौतम निकट मानिन्थे । उनले अहिले एमाले त्याग गरेका छन् ।

गत स्थानीय निर्वाचनमा भरतपुर नगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको निकट सहयोगीको रुपमा रहेका रामजीको पछिल्लो समय सदस्य टंकलाल घिसिङसँग सुमधुर सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्