थाेरै समयमा धेरै नतिजा निकाल्ने गरी जलनको उपचार र रोकथाममा लाग्न मन्त्री बस्नेतको  निर्देशन 



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरूसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पोखरेल सहित मन्त्रालय अन्तरगत महाशाखाका अधिकारी पनि सहभागी थिए ।

छलफलमा जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरूले जलन उपचारको वर्तमान अस्वस्थता, चुनौती र अबको बाटो सन्दर्भमा छलफल गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पोखरेलले उपत्यकाका ६ वटै जलनको उपचार हुने अस्पतालहरूलाई समन्वयात्मक रूपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरी सम्पर्क व्यक्ति तोक्ने, ती अस्पतालहरूले उपत्यका बाहिरका सङ्घीय र प्रादेशिक अस्पतालहरूलाई उपचारमा सहजीकरण गर्ने गरी अस्पताल तोक्ने र ती अस्पतालहरूको नेटवर्किङ गरी तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजीकरण गर्ने गरी टेलिमेडिसिन सेवा मार्फत एकीकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नु पर्ने बताए ।

मन्त्री बस्नेतले विज्ञहरूबाट प्राप्त सुझाव कार्यान्वयनमा नेतृत्वदायी र सकारात्मक भूमिका खेल्ने बताए । उनले मन्त्रालयले सकेसम्म जलन उपचार व्यवस्थापनमा सहजीकरण गर्ने आश्वासन दिँदै थोरै समयमा धेरै नतिजा निकाल्ने गरी जलनको उपचार र रोकथाममा काम गर्न सबै अस्पताल र विज्ञहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्