देशैभर गर्मी बढ्यो, मौसमविद् भन्छन् : मध्य र पश्चिम तराईमा लू केही दिन यथावत रहन्छ



काठमाडौं । वर्षा गराउने स्थानीय र पश्चिमी वायु कमजोर भएर जमिन तातिने क्रम बढेसँगै देशका अधिकांश जिल्लाको तापक्रम उकालो लागेको छ। मध्य र पश्चिम तराईका १० जिल्लामा तातो हावा (लू) चलेको छ। मौसम पूर्वानुमान महाशाखाले सप्तरीदेखि रुपेन्देहीसम्मका तराईका जिल्लालाई लू प्रभावित क्षेत्र घोषणा गरेको छ।

तापक्रम ३ देखि ५ दिनसम्म लगातार ४० डिग्री वा सोभन्दा माथि तापक्रम पुगेको अवस्थामा लू प्रभावित क्षेत्र घोषणा गर्ने गरिन्छ। समग्र तराईसहित पहाडी भेगको तापक्रम अझै केही दिन बढ्ने जनाएको छ।

हिजोआज स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा गराउने प्रणाली विकास हुने गरे पनि तत्काल देशैभर वर्षाको सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताए। लू यथावत रहने बताउँदै उनले भने, ‘तापक्रम घट्न वर्षा हुनैपर्छ, अझै केही दिन वर्षाको सम्भावना नरहेकाले गर्मी अझै बढ्छ।’

१५ जेठयता मध्य र पश्चिम तराईका अधिकांश जिल्लाको तापक्रम ४० डिग्रीमाथि छ । गत साता (१६ जेठमा) बाराको कलैयाको तापक्रम ४३.३ डिग्री पुगेको थियो । गत बिहीबार वीरगन्जमा ४२.६, हेटौँडाको तापक्रम ४१.३ डिग्री र शुक्रबार चितवनको रामपुरमा ४३ डिग्री मापन भएको थियो । रौतहट, सिमरा, पर्सा, नवलपरासी र आसपास भेगको तापक्रम ४० डिग्रीमाथि रहेको मौसमविद् झाले जानकारी दिए।

झा भन्छन्, ‘केही दिनयता तराईका धेरैजसो भू–भागको तापक्रम ४० डिग्रीमाथि नै छ । महाशाखाको नियमित अनुगमनमा तराईका ३०/३२ ठाउँको तापक्रम ४० डिग्रीभन्दा तल झरेको छैन।’ शनिबार (२० जेठ) देखि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा फाट्टफुट्ट मौसम धुम्मिने र बदलिने क्रम सुरु भए पनि तराईमा यस्तो गतिविधिको लक्षण अझै केही दिन नरहेको महाशाखाका अधिकारी बताउँछन् ।

पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने महाशाखाको प्रक्षेपण छ। गत सातादेखि भारतका धेरै ठाउँमा लू चल्न थालेकाले त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर नेपालमा पनि देखिएको मौसमविद् बताउँछन्। अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कश्मीर हुँदै नेपालको पश्चिमी भेगबाट भित्रिने वायु २ सातायता कमजोर छ।

पश्चिमी वायुको कमजोर प्रभाव नेपालगन्ज र आसपास भेगमा रहेकाले गत वर्ष जस्तो ती भेगमा गर्मी बढेको छैन । वैशाखयता ४० डिग्री र सोभन्दा माथि पुग्ने नेपालगन्जको तापक्रम विभागको अभिलेखअनुसार यस पटक ४० डिग्री नाघेको छैन । शनिबार नेपालगन्जको तापक्रम ३९ डिग्री पुगेको, तर पश्चिमी वायुको आंशिक प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा रहेकाले नेपालगन्ज र आसपास भेगको तापक्रम तत्कालै बढ्ने सम्भावना नरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक असर रहेकाले त्यसको धेरथोर सकारात्मक प्रभाव नेपालगन्ज, धनगढी र आसपासका तराईका भेगमा महसुस गर्न सकिने उनको भनाइ छ।

‘मनसुन भित्रिने अवधि नजिकिँदै गर्दा स्वाभाविक रूपमा पश्चिमी वायु कमजोर बन्ने भएकाले केही दिनपछि नेपालगन्ज र पश्चिम तराईको तापक्रम अहिलेभन्दा केही बढ्न सक्छ,’ मानन्धरले भनिन् ।

काठमाडौं उपत्यकामा यो वर्षको सबैभन्दा बढी गर्मी गत बिहीबार (१८ जेठमा) भएको थियो । सो दिन उपत्यकाको तापक्रम ३२.३ डिग्री मापन भएकामा फाट्टफुट्ट मौसम धुम्मिन थालेकाले तापक्रम केही खस्किएको छ । शनिबार उपत्यकाको तापक्रम ३२ डिग्री मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्