नक्कली भुटानी शरणार्थी प्रकरणः आजदेखि थुनछेक बहस



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर भएको ठगी प्रकरणमा आज (आइतबार)देखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ।

हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस हुने भएको हो। शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयानको बयान लिइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले आइतबारदेखि थुनछेक बहस सुरु हुने भएकाले त्यहीअनुसार तयारी गरिएको जानकारी दिएका छन्। सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्।

प्रतिवादीका तर्फबाट करिव ५० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन्। ३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरुले २ भन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिएको जिल्ला अदालतले जनाएको छ।

इजलासले समय निर्धारण गरेमा केही सहज र छिटो हुने नभए कम्तीमा १ साता बहस हुने अनुमान जिल्ला सरकारी वकिलको कार्यालयले गरेको छ। करिब १ साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्ने छन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्