मानवीय क्रियाकलाप सारसलाई चुनौती



काठमाडौँ । संकटको सूचीमा रहेका सारसको संख्या अपेक्षा गरिएभन्दा बढी पाइए पनि बासस्थान र विचरण क्षेत्रको अवस्था भने जटिल छ । विद्युत्का तार र हाइटेन्सन लाइनमा करेन्ट लाग्दा सारस मर्ने क्रम बढेको छ ।

१ दशकको अवधिमा ३६ वटा वयस्क सारस मरेका छन् । जलवायु परिवर्तनले खुम्चिन थालेको सिमसार क्षेत्र, बढ्दो पूर्वाधार विकास र अन्य मानवीय चहलपहलले यो पक्षी जोखिममा पर्न थालेको छ । विश्वव्यापी रूपमा खतराको सूचीमा रहेको सारस नेपालमा मानवीय कारणले जोखिममा रहेको त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा. हरिप्रसाद शर्माले बताए ।

उनले भने, ‘सिमसार र दलदले खेतमा गुँड बनाउने सारसको बासस्थान अतिक्रमण हुने क्रम बढिरहेको छ । मुख्यतया विद्युत्को तार यो पक्षीका लागि ठुलो जोखिम बनेको छ ।’ शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा लुम्बिनी, कपिलवस्तु नवलपरासी र आसपासका भेगमा ६५२ वटा सारस पाइएका छन् । चितवनदेखि कञ्चनपुरसम्मका १० जिल्लाको अनुगमन गर्दा सबैभन्दा धेरै संख्या रुपन्देहीको आज्माघाट र आसपासको क्षेत्रमा पाइएको छ । सो क्षेत्रमा ३१० वटा सारस भेटिएका छन् । नेपालमा ९५ प्रतिशतभन्दा बढी सारस ग्रेटर लुम्बिनी क्षेत्र आसपास भेगमा अभिलेख भएको छ ।

पहिलो पटक बृहत् र विस्तारित क्षेत्रमा सारसको अनुगमन भएको हो । सारसको संख्या र अन्य वस्तुस्थिति बुझ्न विज्ञहरूको टोली गत ११ वैशाखदेखि २ सातासम्म फिल्डमा खटिएको थियो । यो पक्षीको बासस्थान र विचरण क्षेत्र सीमावर्ती भारतीय क्षेत्रतर्फ पनि भएकाले सूक्ष्म नतिजा प्राप्त नभएको तर भौगोलिक वितरण र बासस्थानलाई नजिकबाट बुझ्ने प्रयास भएको अनुगमन टोलीका सदस्य एवं पक्षीविद् हेमबहादुर कटुवालले बताए ।

उनका अनुसार १४ वटा टोलीले ग्रेटर लुम्बिनी क्षेत्रको ९३ भेगको स्थलगत अनुगमन गरेको छ । ‘चितवनदेखि कञ्चनपुरसम्मका १० जिल्लामा सारसको उपस्थिति पुष्टि ग¥यौँ । यो पक्षीसँग जोडिएका मानवीय र अन्य जोखिम पनि पहिचान गर्ने काम भएको छ,’ कटुवालले भने, ‘सहरीकरणको नकारात्मक प्रभावले अपेक्षा गरिएअनुसार यसको संख्या बढ्न सकेको छैन ।’

प्रेम र समर्पणको प्रतीक मानिने सारस बुद्ध धर्मग्रन्थसँग पनि जोडिएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५ वर्षअघि यसलाई नगर पक्षी घोषणा गरेको थियो । विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा ४ प्रजाति अभिलेख भएका छन् ।

सारस, कालो टाउके, लक्ष्मण सारस र क¥याङकुरुङसहित नेपालमा ४ प्रजाति अभिलेख भएका छन् । कालो टाउके, लक्ष्मण सारस र क¥याङकुरुङ नेपालमा जाडोयाममा बसाइँ सरी आउने प्रजाति हुन् । ४ प्रजातिमध्ये सारस नेपालको रैथाने पक्षी हो ।

गुँड बनाई बच्चा कोरल्ने सारस बढी संकटमा रहेकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले यो पक्षीलाई संवेदनशील प्रजातिमा राखेको छ । खुला सिमसार क्षेत्र, धानखेत, पोखरी र ताल आसपास क्षेत्रमा बच्चा कोरल्ने सारस मुख्यतया सिमसार विनाशले संकटमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायत संस्थाको ठहर छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले सारसलाई संरक्षित पक्षीको सूचीमा सूचीकृत गरेको छ । ५ फिट हाराहारी उचाइको सारस अधिकतम् ४० देखि ५० फिटको उचाइमा उड्ने भएकाले विद्युतीय लाइन यसका लागि जोखिम बन्न थालेको अर्का पक्षीविद् कृष्णप्रसाद भुसाल बताउँछन् ।

सारसको नियमित चहलपहल पाइएका भेगहरूमा विद्युतीय संरचनालाई वैकल्पिक क्षेत्रहुँदै लान सकिने बताउँदै आइयुसिएनका बर्ड रेड लिस्ट अथोरिटी सदस्यसमेत रहेका उनले भने, ‘विद्युत्का धेरै संरचना जमिनमुनिबाट विस्तार गर्ने अभ्यासतर्फ राज्यले ध्यान नदिएसम्म सारसजस्ता पक्षी सधैँ जोखिममा रहन्छन् ।’

प्रतिक्रिया दिनुहोस्