पाकिस्तानको हाइब्रिड माेडेल श्रीलङ्का, अफगानिस्तान र बङ्गलादेशले गरे अस्वीकार



काठमाडौँ । पाकिस्तानमा हुने भनिएको एसिया कप क्रिकेट अन्योलमा  परेको छ । पाकिस्तानले प्रस्ताव गरेको  हाइब्रिड मोडल तीन देशले अस्वीकार  गरेसँगै अन्योल छाएको हो । श्रीलङ्का, अफगानिस्तान र बङ्गलादेशले एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले प्रस्ताव गरेको हाइब्रिड मोडल औपचारिक रूपमा अस्वीकार गरेका दाबी  गरिएको छ ।

श्रीलङ्का क्रिकेट (एसएलसी), बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) र अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले चार खेल पाकिस्तानमा आयोजना गर्ने र बाँकी खेल युएईमा गर्ने हाइब्रिड मोडल औपचारिक रूपमा अस्वीकार गर्दै पत्र लेखेका हुन् ।

यता भारत र ३ देशले एसिया कपका लागि हाइब्रिड मोडलमा सहमति जनाइएको बताइएको छ । पाकिस्तानका पूर्व कप्तान रशीद लतिफले क्रिक बजसँग कुरा गर्दै भनेका छन्, ‘मलाई स्वतन्त्र स्रोतहरूबाट जानकारी छ कि चार देशले मोडेल अस्वीकार गरेका छन् र यो अब औपचारिकता हो कि एसिया कप पाकिस्तानबाट बाहिर सारिनेछ।’

उनले पाकिस्तानले प्रतियोगिता खेल्ने विश्वास गरे। ‘मलाई लाग्छ पाकिस्तानले खेल्नु पर्छ र खेल्नेछ।’ यसअघि पाकिस्तानले आफ्नो देशमा प्रतियोगिता नभए एसिया कपसँगै भारतमा हुने एक दिवसीय विश्वकप समेत नखेल्ने चेतावनी दिएको थियो।

भारतले पाकिस्तान भ्रमण नगर्ने बताएसँगै पाकिस्तानमा तय भएको एसिया कपको आयोजकको विषयमा विवाद सुरु भएको थियो। जससँगै पाकिस्तानले भारतका खेल युएईमा गर्ने प्रस्ताव गरेको थियो। पाकिस्तानमा एसिया कप हुन नसके श्रीलङ्काले आयोजना गर्ने सम्भावना रहेको छ ।

आगामी सेप्टेम्बरको दोस्रो साताबाट सुरु हुने ६ टिमको एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपालले भाग लिनेछन्। एक समूहमा नेपाल, भारत र पाकिस्तान तथा अर्को समूहमा श्रीलङ्का, अफगानिस्तान र बङ्गलादेशले प्रतिस्पर्धा गर्ने खेल तालीका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्