तराईमा अझै १ साता तातो हावा चल्ने, आज काठमाडौंमा यो वर्षकै बढी गर्मी



काठमाडौं । मौसम प्रभावित पार्ने पश्चिमी र स्थानीय वायु कमजोर भएपछि तराईका अधिकांश जिल्लामा तातो वायु (लू)ले जनजीवन प्रत्यक्ष प्रभावित बनाउन थालेको छ । तराईका धेरै जिल्लाको अधिकतम् तापक्रम ४० डिग्रीमाथि छ।

तत्काल मनसुन नभित्रिने भएकाले अझै १ साता गर्मी नघट्ने र लूको असर यथावत रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ। गत वर्ष २२ जेठमा भित्रिएको मनसुन यस वर्र्ष डेढ साता हाराहारी ढिलो गरी भित्रिने भएकाले गर्र्मीको असर तराईसहित पहाडी भेगमा पनि फैलिएको मौसमविद्हरू बताउँछन्।

विभाग मातहतको मौसम पूर्वानुमान महशाखाका मौसमविद् वरुण पौडेल भन्छन्, ‘आगामी आइतबार/सोमबारदेखि पूर्वी तराई र पूर्वी पहाडी भेगमा बादल लाग्ने र मौसम बदलिने गतिविधि विकास हुनेछ। त्यस्तो प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव २ दिन ढिलो गरी अन्यत्र पनि फैलिने सम्भावना छ।’ उनका अनुसार आगामी बुधबार (३१ जेठ) भन्दा अघि नेपालमा मनसुन सुरु हुने मौसमी प्रणाली देखिएको छैन।

गत साता (१५ जेठ)देखि मध्य र पश्चिम तराईका १० जिल्लामा देखिएको लूको बुधबारयता विराटनगरदेखि धनगढीसम्म फैलिएको छ। नेपालको तराई भेगको तापक्रम ३ देखि ५ दिनसम्म लगातार ४० डिग्री वा सोभन्दा माथि पुगेको अवस्थामा लू प्रभावित क्षेत्र घोषणा गर्ने गरिन्छ। गर्मी बढेपछि तराईका धेरैजसो विद्यालय बन्द गरिएका छन्।

गत साता (१६ जेठमा) बाराको कलैयाको तापक्रम ४३.३ डिग्री र २२ जेठमा नवलपरासीको दुम्कौलीको अधिकतम् तापक्रम ४३ डिग्री मापन भएको छ। ती भेगमा यस वर्ष अहिलेसम्म रेकर्ड भएको गर्मीको उच्चतम अवस्था हो। वर्षा गराउने स्थानीय र पश्चिमी वायु कमजोर भएर जमिन तातिने क्रम बढेसँगै समग्र तराईमा गर्मी बढेको छ।

केही दिनयता भैरहवा, धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, विराटनगरलगायत क्षेत्रको तापक्रम ४० डिग्रीभन्दा बढी पुग्ने गरेको छ। मनसुन भित्रिने अवधि नजिकिँदै गर्दा पश्चिमी वायु कमजोर बन्दा नेपालको पश्चिमी तराई क्षेत्रमा गर्मी बढ्न थालेको छ।

बिहीबार देशमै सबैभन्दा बढी तापक्रम भैरहवामा मापन भएको छ। सो भेगको तापक्रम ४२.२ डिग्री पुगेको छ। त्यसैगरी, नेपालगन्जको ४१.८, सिमराको ४१.७, जनकपुरको ४१, धनगढीको ४०.५ र विराटनगरको ४०.४ डिग्री मापन भएको महाशाखाले जनाएको छ।

बिहीबार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। बिहीबार काठमाडौंको अधिकतम् तापक्रम ३२.८ डिग्री मापन भएको र तत्काल पानी पर्ने सम्भावना नरहेकाले उपत्यकाको तापक्रम अझै बढ्न सक्ने अर्का मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। काठमाडौंमा यसअघि गत साता (१८ जेठमा) ३२.३ डिग्री तापक्रम मापन भएको थियो।

मौसम विभागले मौसमी गतिविधिको अभिलेख राख्न थालेयता धनगढीमा सबैभन्दा बढी गर्मी भएको थियो । सन् १९८९ को जेठ महिनामा सो क्षेत्रको तापक्रम ४६.४ डिग्री मापन भएको थियो भने सोही वर्ष नेपालगन्जमा तापक्रम ४५ डिग्री पुगेको थियो । नेपाली भूभागमा गर्मीको यो मात्रा हालसम्मकै उच्च मानिएको छ।

भारतको केरलामा बिहीबार (२५ जेठ) देखि मनसुन सुरु भएकाले नेपाली भू-भागमा मनसुन भित्रिन अझै १ साता लाग्नेछ। सामान्यता जुन १ तारिखमा केरलामा देखिने मनसुनी प्रभाव यस पटक १ साता ढिलो गरी सक्रिय बनेको भारतीय मौसम विभागले जनाएको छ।

केरलामा फैलिने मनसुन बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतको कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ । केरलामा मनसुन सक्रिय भएको १० दिन हाराहारीपछि मात्रै नेपालमा भित्रिने गरेको महाशाखाका मौसमविद् बताउँछन्।

प्रतिक्रिया दिनुहोस्