खस्किन थाल्यो तापक्रम, मनसुन भित्रिन अझै १ साता लाग्ने



काठमाडौं । बंगालको खाडीबाट भित्रिएको जलवाष्पमिश्रित वायु, स्थानीय वायु र भू–मध्य सागरको आंशिक प्रभावले देशैभरको तापक्रममा सुधार आउन थालेको छ। हावा चल्ने, बादल बन्ने र क्षणिक वर्षासमेतका गतिविधि हुन थालेपछि अधिकांश तराई क्षेत्रको तापक्रम घटेको हो।

झापादेखि कञ्चनपुरसम्मका तराईका अधिकांश जिल्लाको तापक्रम ४० डिग्रीभन्दा माथि हुने गरेकामा शुक्रबारदेखि खस्किन थालेको छ। मनसुन भित्रिन अनुकूल वातावरण बन्न थालेकाले तापक्रममा आंशिक सुधार आउन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् शान्ति कँडेलले भनिन्, ‘बंगालको खाडीको धेरथोर प्रभावले कोसी प्रदेशमा आंशिक बदली सुरु भएको छ। छिटफुट वर्षा र मौसम बदलिने गतिविधि अन्यत्र पनि विस्तार हुने थालेकाले तापक्रम घट्न थालेको हो।’

उनका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाहेक तराईका भू–भागको तापक्रम क्रमशः घट्नेछ। गत साताको तुलनामा अहिले धरान, विराटनगर, सिमरा, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगरलगायत क्षेत्रको तापक्रम घटेको छ। गत बिहीबार ४०.४ डिग्री मापन भएको विराटनगरको तापक्रम क्रमशः घट्दै शनिबार ३५.३ डिग्रीमा झरेको छ।

शनिबार धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा र आसपासका भेगको तापक्रम मात्रै ४० डिग्रीमाथि छ । शनिबार देशमै सबैभन्दा बढी तापक्रम नवलपरासीको दुम्कौलीमा मापन भएको छ । केही दिनयता सो क्षेत्र र आसपासको तापक्रम ४२ डिग्रीमाथि रहँदै आएकामा शनिबार दुम्कौलीको तापक्रम ४३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकामा यस वर्षकै बढी गर्मी
शनिबार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। एकै दिनमा उपत्यकाको तापक्रम १ डिग्री बढेर ३३.३ डिग्री पुगेको छ। शुक्रबार ३२.३ डिग्री मापन भएको काठमाडौँको तापक्रम शनिबार ३३.३ डिग्री पुगेको महाशाखाले जनाएको छ।

१ सातायता काठमाडौंको तापक्रम बढ्दो क्रममा छ । गत साता (१८ जेठमा) उपत्यकाको तापक्रम ३२.३ डिग्री मापन भएको थियो। ११ वर्षअघि (सन् २०१२ जुन १३ मा) उपत्यकामा हालसम्मकै सबैभन्दा बढी तापक्रम (३५.२ डिग्री) रेकर्ड भएको थियो।

हालसम्म देशमै सबैभन्दा बढी तापक्रम धनगढीमा मापन भएको छ । सन् १९८९ को जेठ महिनामा सो क्षेत्रको तापक्रम ४६.४ डिग्री मापन भएको थियो भने सोही वर्ष नेपालगन्जको तापक्रम ४५ डिग्री पुगेको थियो ।

मनसुन भित्रिन अझै १ साता

भारतको केरलामा बिहीबार (२५ जेठ)देखि मनसुन सुरु भएकाले नेपाली भूभागमा मनसुन भित्रिन अझै १ साता लाग्नेछ । सामान्यता जुन १ तारिखमा केरलामा देखिने मनसुनी प्रभाव यस पटक १ साता ढिलो गरी सक्रिय बनेकाले नेपालमा त्यसको असर देखिन १ साता हाराहारी लाग्ने विभागका अधिकारीहरूको ठहर छ।

केरलामा मनसुन सक्रिय भएको १० दिन हाराहारीपछि मात्रै नेपालमा भित्रिने गर्छ । केरलामा फैलिएको मनसुनी गतिविधि बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतको कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ ।

प्रतिक्रिया दिनुहोस्