कोमामा सार्क, सक्रिय बिमस्टेक



काठमाडौं । दक्षिण एसियाली देशहरूबीचको क्षेत्रीय सहकार्य फितलो बनिरहेका बेला बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)का गतिविधि क्रियाशील हुन थालेका छन्।

सदस्य राष्ट्रका वाणिज्य/व्यापारमन्त्री स्तरीय सम्मेलन र ३ दिने व्यापार मेला भोलि (मंगलबार)देखि भारतको कलकत्तामा सुरु हुँदै छ । विभागीय मन्त्रीहरू, व्यापार र वाणिज्य क्षेत्रका ४०० भन्दा बढी प्रतिनिधि यो जमघटमा सहभागी हुनेछन्। बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। नेपाल सन् २००४ देखि बिमस्टेकको सदस्य छ।

२ वर्षअघि श्रीलंकामा सम्पन्न पाँचौँ शिखर सम्मेलनले अनुमोदन गरेका कार्यक्रमअनुसार कलकत्तामा मन्त्रीस्तरीय जमघट तय भएको परराष्ट्र मन्त्रालयको क्षेत्रीय महाशाखाले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल नेतृत्वको नेपाली टोली सम्मेलनमा सहभागी हुनेछ।

कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेललगायत अधिकारीहरू पनि सम्मेलनमा सहभागी हुनेछन्। व्यापार मेलाको उच्चस्तरीय सत्रमा १४० हाराहारी वक्ता र विज्ञले क्षेत्रीय व्यापार सहज र सरल बनाउने अवधारणाबारे कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।

मन्त्री रिजालले नेपालमा वैदेशिक लगानी भिœयाउँदाका अवसर, व्यापार प्रवद्र्धनलगायत विषयमा सम्बोधन गर्नेछन्। उनी आइतबार कलकत्ता प्रस्थान गरेका छन्। यो सम्मेलन व्यापार सहजीकरण, कृषि र खाद्यान्न, पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटी, दिगो पर्यटन, स्वास्थ्य सेवाको विकास, चिया, रत्न तथा आभूषण, जलवायु परिवर्तन, स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेलगायत विषयमा केन्द्रित हुनेछ।

बंगलादेश र श्रीलंका आर्थिक संकटबाट गुज्रिरहेका बेला यी देशका लागि कलकत्ताको जमघट महत्वपूर्ण हुने सदस्य देशहरूको ठहर छ। सीमापार सहयोगलाई प्रवद्र्धन गर्न, क्षेत्रीय व्यापार र लगानी वृद्धिमा योगदान पु¥याउन सबै सदस्य देशका लागि व्यापार सम्मेलन फलदायी बन्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूको विश्वास छ।

कोरोना संक्रमण सुरु भएयता दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मन्त्रीस्तरीय भौतिक जमघट हुन सकेका छैनन्। यही वर्ष (सन् २०२३)को ६ महिनाको अवधिमा विमस्टेकका महासचिवसहितका उच्च अधिकारी संलग्न १५ वटा भौतिक र भर्चुअल जमघट भएका छन्। अढाई वर्षयता सार्कका प्रशासनिक कामबाहेक अन्य गतिविधि भएको छैन।

व्यापार र अन्य क्षेत्रीय सहकार्यको खाँचो औल्याउँदै सन् १९९७ मा बिमस्टेक स्थापना भएको थियो। क्षेत्रीय व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, कृषि, साँस्कृतिक सहकार्य, आतंकवाद विरुद्धको हातेमालोमा बिमस्टेकका गतिविधि केन्द्रित छन्। त्यसैगरी वातावरण र प्रकोप व्यवस्थापन, जनस्वास्थ्य, गरिबी निवारण जस्ता मुद्दामा पनि बिमस्टेकले प्राथमिकतामा राखेको छ।

पाँचौँ बिमस्टेक सम्मेलनले बडापत्र पारित गर्दै आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी महासन्धि, प्रविधि हस्तान्तरण संरचनासम्बन्धी सम्झौता र कूटनीतिक तालिमका लागि आपसी सहयोगबारे सदस्य राष्ट्रबीच सहमति/समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्