हिमाल र पहाडमा पनि गर्मीको रेकर्ड ब्रेक



काठमाडौं । गर्मीयाममा हिमाली जिल्ला मुस्ताङको थाकमार्फाको उच्चतम तापक्रम २३ डिग्री हो। मुस्ताङकै जोमसोमको तापक्रम २४.१ डिग्री हो । तर, यो वर्ष यी क्षेत्रको तापक्रम विगतका वर्षभन्दा बढी मापन भएको छ।

गत साता शुक्रबार र शनिबार थाकमार्फाको तापक्रम २३.१ र शुक्रबार जोमसोमको तापक्रम २४.८ डिग्री पुर्‍यो। मुस्ताङका यी २ भेगको तापक्रम हालसम्मकै उच्च अभिलेख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मुस्ताङ मात्रै होइन, पहाडी र तराईका अधिकांश भेगको तापक्रम यस पटक विगतका वर्षभन्दा उकालो लागेको छ। यही महिनामा इलामको कन्याम, ओखलढुंगा, पाँचथरको फिदिम, धनकुटाको पाख्रिबास, खोटाङको दिक्तेललगायत पहाडी भेगमा पनि गर्मीले रेकर्ड ब्रेक गर्‍यो।

गत २० जेठमा कन्याममा ३० डिग्री, २३ जेठमा ओखलढुंगामा ३१.३, सोही दिन फिदिममा ३६, २३ जेठमै दिक्तेलमा २९.८, २४ जेठमा पाख्रिबासमा ३१.५ डिग्री तापक्रम पुगेको विभागले जनाएको छ। यसअघि सन् १९९२ मा कन्यामको अतिकतम तापक्रम २८.२ डिग्री, ओखलढुंगामा २४ वर्षअघि ३०.७, फिदिममा ८ वर्षअघि ३४.८, ४ वर्षघि दिक्तेलमा २९.४, ३१ वर्षअघि पाख्रिबासको तापक्रम २८.५ डिग्री रेकर्ड भएको थियो।

गर्मीको मात्रा उच्च भएपछि विभागले गत ५ वैशाखमा मध्य तराईको धनुषादेखि कपिलवस्तुसम्मको भेगलाई लू प्रभावित क्षेत्र घोषणा गरेको थियो। दोस्रो पटक १५ जेठमा सुरु भएको लू लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा अझै यथावत छ। यस पटकको लू अहिलेसम्मकै लामो मानिएको छ।

४ दशकको अवधिमा लूको प्रभाव सबैभन्दा लामो रहेको विभागकी मेटियोरोलोजिस्ट डा. इन्दिरा कँडेलले बताइन्। ‘सुख्खा र ताता वर्षहरूमध्ये यस पटक लूको असर लामो देखिएको छ। सन् १९८१ यताको अवस्था नियाल्दा सम्भवतः लूको प्रभाव यो वर्ष लामो हो,’ उनले द नेपालटप दैनिकसँग भनिन्।

विगतमा पनि खडेरी र तापक्रमको नियमित अनुगमन गर्दै आएको विभागले गत वर्षदेखि लू र शीतलहरको सूक्ष्म अनुगमन सुरु गरेको कँडेलले जानकारी दिइन्। यो वर्ष पोखरामा २४ वर्षयता सबैभन्दा बढी गर्मी भएको छ। पोखरा उपत्यकाको तापक्रम गत बिहीबार र शुक्रबार ३५.७ डिग्री मापन भएको थियो।

त्यहाँको तापक्रम हालसम्मकै उच्च भने होइन। यसअघि २८ अप्रिल सन् १९९९ मा पोखराको तापक्रम ३७.४ डिग्री मापन भएको थियो। यस पटक मधेस प्रदेशदेखि मध्य तराई र पश्चिम तराईमा लूको असर बढी देखिएको छ । यही महिनामा चितवनको रामपुर र नवलपरासीको दुम्कौलीको तापक्रम देशमै उच्च मापन भएको छ।

गत शुक्रबार दुम्कौलीको तापक्रम ४४.८ तथा २६ र २७ जेठमा रामपुरमा ४३.५ डिग्री तापक्रम पुगेको थियो। यसअघि ५ जुन, १९७९ मा दुम्कौलीको तापक्रम ४३.७ र ५ मे, १९९५ मा रामपुरको तापक्रम ४३ डिग्री मापन भएको विभागको तथ्यांक छ। जेठ सुरु भएपछि झापादेखि कञ्चनपुरसम्मका तराईका धेरै भेगको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ। नेपालको तराईका भू–भागको तापक्रम ३ दिनदेखि लगातार ३६ डिग्रीमाथि पुगेको अवस्थामा लू लागेको मान्ने गरिन्छ।

विभागले झापामा ३६.५ डिग्री, चितवनमा ३७.४ र नेपालगन्जमा ३९.८ डिग्री तापक्रम नाघेको अवस्थामा लू क्षेत्र घोषणा गर्दै आएको छ। सिमरा, भैरहवा, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, दिपायल र आसपास भेगको तापक्रम अझै लूकै अवस्थामा छ। बुधबार देशमै सबैभन्दा बढी तापक्रम भैरहवामा (४३ डिग्री) मापन भएको छ । धनगढी, नेपालगन्ज र आसपास भेगको तापक्रम ४० डिग्रीभन्दा माथि छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा लूको असर यो साताभर रहने विभागको मौसम पूर्वानुमान महाशाखाको ठहर छ। हालसम्म देशमै सबैभन्दा बढी तापक्रम धनगढीमा मापन भएको छ।

सन् १९८९ को जेठ महिनामा सो क्षेत्रको तापक्रम ४६.४ डिग्री मापन भएको थियो भने सोही वर्ष नेपालगन्जको तापक्रम ४५ डिग्री पुगेको थियो। बुधबार मनसुन भित्रिएकाले कोसी प्रदेश, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको तराई र भित्री मधेसको गर्मी क्रमशः घट्ने महाशाखाका मौसमविद् बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्