‘बिपर जोय’ले मनसुन कमजोर, आजदेखि पश्चिम तराईको लू घट्ने



काठमाडौं । अरब सागरमा विकास भएको ‘बिपर जोय’ नामक शक्तिशाली आँधीको प्रभावले नेपालमा मनसुनी प्रभाव कमजोर भएको छ। मनसुन भित्रिएको ५ दिन भइसक्दा कोसी प्रदेशबाहेक अन्यत्र वर्षाका गतिविधि सक्रिय हुन सकेको छैन।

गत साता (३१ जेठमा) नेपाल प्रवेश गरेको मनसुन एकै दिनमा कोसी प्रदेश, मधेस, बाग्मतीका पहाडी भेग र गण्डकी प्रदेशको पूर्वी भेगसम्म फैलिएको थियो। ४ दिनयता बिपर जोयले नेपाल र नेपालसँग जोडिएको भारतको विहारमा जलवाष्पमिश्रित वायु कमजोर बनाएको छ।

कोसी प्रदेशबाहेक अन्यत्र तत्काल नियमित वर्षाका गतिविधि सक्रिय नहुने मौसमविद् रोजन लामिछानेले बताए। मनसुन भित्रिँदैमा सबैतिर नियमित वर्षा नहुने उल्लेख गर्दै उनले भने, ‘यस्तो विगतमा पनि हुन्थ्यो, केही दिनलाई नियमित वर्षा हुने सम्भावना छैन। यस पटक बिपर जोयको प्रत्यक्ष/अप्रत्यक्ष प्रभावले नेपालमा वर्षा कमजोर भएको हो।’

गत साता अरब सागरको मध्यपूर्व क्षेत्रमा विकास भएको यो शक्तिशाली आँधीले भारतको राजस्थान, गुजरात र पाकिस्तानको कराचीलगायत भू–भागमा ठुलो जनधनको क्षति गराएको छ।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय रेखा र मनसुनी प्रणाली आपसमा जुधेपछि गत साता (३१ जेठमा) गण्डकी प्रदेशको पूर्वी भेगसम्म वर्षा भएको थियो । तर, बिपर जोयले मनसुनी वायुलाई विपरीत दिशातर्फ धकेलेपछि देशका अधिकांश भेगमा वर्षाका गतिविधि निष्क्रिय बनेको मौसमविद् बताउँछन्।

भारतको केरलामा सुरु हुने मनसुन बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतको कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ। सामान्यता जुन १ तारिखमा भारतको केरलामा सुरु हुने मनसुनी प्रभाव गत वर्षको तुलनामा यस पटक १ साता ढिलो गरी गत २५ जेठमा सुरु भएको थियो।

गत वर्ष २२ जेठमा नेपालमा मनसुन भित्रिएको थियो। केरलामा मनसुन सुरु भएको ७ देखि १० दिन हाराहारीमा नेपालको भू–भाग प्रवेश गर्ने गरेकामा यस पटक ७ दिनमै भित्रिएको थियो। अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो । जल तथा मौसम विज्ञान विभागले जुन १३ (जेठ ३०/३१) देखि अक्टोबर २ (असोज १५÷१६)लाई नेपालको मनसुन क्यालेन्डर मान्ने गर्छ।

४ महिनाको अवधिमा नेपालको औसत वर्षा १५३० मिलिलिटर हो । मनसुन अवधिमा नेपालमा वार्षिक वर्षाको तुलनामा ८० प्रतिशत हाराहारी पानी पर्ने गर्छ । मौसमविद्हरू सरदर वर्षाको ९० देखि ११० प्रतिशतलाई औसत वर्षा मान्ने गर्छन् । यस पटक नेपालका अधिकांश भेगमा औसत वर्षा नहुने उनीहरूको ठहर छ ।

बिपर जोयले नेपालको सुरुआती मनसुनी प्रभाव कमजोर बनाउँदै गर्दा त्यसको राहत आज (आइतबार)देखि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागले पाउँदै छ । सोही आँधीको प्रभावले लुम्बिनीदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा हुँदै छ । छिटफुट र मध्यमस्तरको वर्षाले चर्को गर्मी र लूको प्रभाव कमजोर बनाउने जलवायुविज्ञ डा. धर्म उप्रेतीले बताए।

वर्षा नभएसम्म मध्य र पश्चिम तराईमा लूको अवस्था सुधार नहुने बताउँदै उनले भने, ‘बिपर जोय आँधीले मनसुनी वायु कमजोर बनाउँदै गर्दा चितवनदेखि पश्चिम तराईको चर्को गर्मी र लू भने घट्दै छ ।’ गत १५ जेठदेखि तराईका अधिकांश भेगमा सुरु भएको लू लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा अझै यथावत छ।

शनिबार दिउँसो चितवनदेखि कञ्चनपुरका अधिकांश जिल्लाको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेकाले लूको प्रभाव कायमै रहेको विभागले जनाएको छ। शनिबार देशमै सबैभन्दा बढी तापक्रम (४३.७ डिग्री) भैरहवामा मापन भएको छ।

त्यसैगरी नेपालगन्जमा ४१.५, धनगढीमा ४१.२, सिमराको ४०.३ र दिपायल, घोराही, वीरेन्द्रनगर, जनकपुर र आसपास भेगको तापक्रम ३९ डिग्रीभन्दा माथि मापन भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्