मनसुनको सुरुआतमै जनधनको क्षति



काठमाडौं । मनसुन सुरु भएको एक साता नबित्दै अविरल वर्षा, बाढी र पहिरोमा परेर ताप्लेजुङ, पाँचथर, तेह्रथुम र संखुवासभामा ठुलो जनधनको क्षति भएको छ। शनिबार रातिदेखिको वर्षासँगैको पहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेका ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ।

आमाबुवा र परिवारका अन्य सदस्यलाई सुरक्षित ठाउँमा लैजाने क्रममा शनिबार राति पहिरोले उनलाई बेपत्ता बनाएको थियो। सोही ठाउँका अन्य ३ जना बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार एकै घरका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३३ वर्षीया सन्ध्या र ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन्। प्रहरी र स्थानीय उनीहरूको खोजीमा जुटेका छन्।

गत सातादेखिको वर्षाले ३ वटा पक्की पुल र ५ वटा झोलुंगे पुलमा क्षति पुगेको छ। पहिरोले सिदिङवा गाउँपालिका–६ को स्वास्थ्य चौकी बगाउनुका साथै अन्य ७ वटा सरकारी कार्यालय र २ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार सिदिङवा, सिरिजंघा, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिकामा पहिरोले सडक र घरहरूमा क्षति पुर्‍याउँदा ५० भन्दा बढी घर जोखिममा छन्। बाढीले मेची राजमार्गको हेवा खोलाको पक्की पुल बगाएपछि पाँचथर र ताप्लेजुङको यातायात अवरुद्ध भएको छ।

बाढीले पाँचथरको फिदिम नगरपालिका र जोरपोखरी (हिलिहाङ गाउँपालिका) जोड्ने पुल बगाएको हो। यातायात पुनः सुचारु गर्न सुनसरीको इटहरीस्थित सडक विभागको प्राविधिकसहितको टोली बेलिब्रिज राख्न खटिएको छ । सो क्षेत्रमा १० दिनभित्र बेलिब्रिज तयार गर्ने विभागको लक्ष्य छ।

पहिरोमा पुरिएर घाइते भएकी पाँचथरको फालेलुङ–३ की ८ वर्षीया जुना सावदेनको उपचारको क्रममा मृत्यु भएको छ। पहिरोमा पुरिएको ७ घन्टापछि उद्धार गरिएकी उनको आइतबार दिउँसो पाँचथर अस्पतालमा मृत्यु भएको हो। फालेलुङ–३ खोलाघारीस्थित मावली घरमा बस्दै आएकी जुना शनिबार राति घरमाथिबाट आएको पहिरोमा पुरिएकी पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

बाढीले पाँचथरका ५ जनालाई बेपत्ता बनाएको छ। हेवा खोलाको बाढीले फिदिम नगरपालिका–१० का २८ वर्षीय सञ्जोग लोवा, हिलिहाङ–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम–५ घर भई हाल फिदिम–४ हेवा खोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई बेपत्ता छन्। सोही ठाउँको बाढीले हिलिहाङ–७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा बेपत्ता भएका प्रहरीले जनाएको छ।

मनसुन सुरु भएयता आइतबार अबेरसम्ममा २५ जना बेपत्ता छन्। बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १५ जना छन्। भोजपुरमा २ जना बेपत्ता छन्। पाँचथरका ठुला–साना १ दर्जन पुलमा क्षति पुगेको छ। संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन सुपर हेवा हाइड्रोमा बाढी पस्दा हाइड्रोका १८ जना कामदार बेपत्ता भएकामा ३ जनाको उद्धार भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार पूर्वी पहाडी भेगका सडक, पुल र अन्य भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘शनिबार रातिको वर्षा, बाढी र पहिरोले त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरू भत्किएका छन्।’

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन्। सम्भावित जोखिममा रहेका अन्य जिल्लामा पनि उद्धार टोली र अन्य स्रोत साधन तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारीहरूको पनि ध्यानाकर्षण गराएका छन्। मनसुनका बेला नेपालमा बर्सेनि १ हजार ३०० हाराहारीले ज्यान गुमाएको गृह मन्त्रालयको अभिलेख छ ।

मनसुनजन्य घटनामा परेर १ दशकको अवधिमा करिब १५ हजार व्यक्तिले ज्यान गुमाएका छन्। यो वर्ष १२ लाख ५४ हजार हाराहारी जनसंख्या प्रभावित हुन सक्ने प्राधिकरणको ठहर छ। प्राधिकरणले विगतका वर्षहरूमा भएको जनधनको क्षतिका आधारमा यो अवस्था आकलन गरेको हो। वर्षाले प्रभावित हुने ९५ हजार ६६ सय ६५ घरधुरीलाई पुग्ने खाद्यान्नलगायत मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्