महोत्तरीमा दिउँसै बैङ्क लुट्ने गिरोहका एक जना पक्राउ



काठमाडौँ । महोत्तरीको दिनदहाडै हतियार देखाएर एनएमबी बैङ्क लुट्ने गिरोहका एक जना पक्राउ परेका छन् । भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले  जानकारी दिए ।

परेका अजयमाथि हातहतियार र चोरी डाँका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर नभएको दुई वटा मोटरसाइकलमा चढेर आएका उनीहरू बैङ्क लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भने पनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पाइएको थियो ।

घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्