नेप्सेमा सामान्य सुधार



काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज  बिहीबार नेप्से ३ अङ्कले वृद्धि उकालो लागेको हो  । आज नेप्से उकालो लागेसँगै २०८९.८४ को विन्दुमा पुगेको छ । आज  बैङ्किङ सहित लघुवित्त, जीवन बिमा लगायतका उपसूचकमा सामान्य वृद्धि हुँदा विकास बैङ्क, वित्त कम्पनी, होटेल तथा पर्यटन, हाइड्रोपावर लगायतका उपसूचकमा भने गिरावट  आएको छ ।

 आज बैङ्किङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ भने जीवन बिमा उपसूचक ०.५६ प्रतिशत र व्यापार उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ । यता निर्जीवन बिमा उपसूचक ०.४५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १।५२ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५७ प्रतिशत र होटेल तथा पर्यटन उपसूचक ०।५८ प्रतिशतले गिरावट भएको छ ।

बजार सामान्य अङ्कले उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ । लगातार चौथो दिन पनि कारोबार रकम २ अर्बबाट तल झर्दा बिहीबार पौने २ अर्बमा सीमित भएको हो । ४० हजार ७७४ वटा कारोबारमा ५१ लाख ३० हजार ५२० कित्ता सूचीकृत धितो पत्र किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाखको कारोबार भएको छ । जसमध्ये शिवं सिमेन्टको सर्वाधिक ९ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड ५५ लाख र आईसीएफसी फाइनान्सको ५ करोड २ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३० कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सपोर्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै एनआईबीएल ग्रोथ फण्डको इकाई मूल्य पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्