दोलखामा राति आएको पहिरोमा परी १ मृत्यु, ३ बेपत्ता



काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७, टोपाटारमा पहिरोमा पुरिएर नाबालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी तिन जना घाइते भएका छन् ।

गए राति बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा स्थानीय टोपबहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता  भएका छन् । पहिरोमा परी ४० वर्षका यज्ञबहादुर थामी, उनकी पत्नी ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सीता थामी घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये यज्ञबहादुर र धनमायालाई शुक्रवार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । अर्की घाइते सीता थामीको भने सिंगटी अस्पतालमा उपचार भइरहेको छ।

गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की घाइतेको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए। गए राति करिब ९ बजे बस्तीमाथिबाट पहिरो खस्दा टोपाटारका ५ वटा घर पुरिएका हुन्। प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजि कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्